विमल पुरी
रुपन्देही, ४ साउन । रुपन्देहीको भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माणको काम ५० प्रतिशत सकिएको छ । एक बर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ ।
स्थानीयले मुआब्जा पाएसँगै रुपन्देहीमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल निर्माण कार्यले गति लिएको हो । मुआब्जा नपाएको भन्दै स्थानीयले अवरोध गरेपछि निर्माण कार्य रोकिएको थियो । अहिले निर्माणको काम तीव्र गतिमा भइरहेको आयोजनाको भनाइ छ । आयोजनाका अनुसार एक बर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेकाले अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । सन २०१९ को जुन सम्ममा विमानस्थल बनाइ सक्ने आयोजनाको लक्ष्य छ ।
आयोजनका आनुसार पार्किङ एरियाको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको ३० प्रतिशत काम एक महिना भित्रमा पुरा हुनेछ । त्यसै गरी आगामी १५ दिन भित्रमा धावन मार्गको अन्य काम सम्पन्न भईसक्ने र त्यसपछि पिचको काम शुरु हुने छ ।
सन् २०१७ को अन्त्य सम्म निर्माण सम्पन्न गर्ने गरी २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो । कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको विमानस्थल निर्मााणमा एडिबीको ५४ करोड रुपैयाँ अनुदान छ । बाँकी चार अर्ब २० करोड रुपैयाँ ऋण सहयोग हो । विमानस्थल निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भएको आयोजनाले जनाएको छ ।