पानीजहाज चलाउन नेपाल–भारतबीच प्राविधिक बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

पानीजहाज चलाउन नेपाल–भारतबीच प्राविधिक बैठक

panijahaj

काठमाडौं, ३२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सञ्चालन गर्ने घोषणालाई डुंगासँग तुलना गरेर मजाक उडाउने काम भइरहेका बेला सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक काम अगाडि बढाएको छ । सरकारले पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयनका लागि प्राविधिक पक्षमाथि छलफल सुरु गरेको हो ।

जल तथा ऊर्जा आयोगले भारतको पानीजहाज प्राधिकरणका पदाधिकारीलाई काठमाडौं झिकाएर पानीजहाज सञ्चालनको विषयमा छलफल गरेको आयोगले जनाएको छ । आइतबार सुरु भएको छलफलमा नेपाल र भारत दुवै पक्षले आआफ्नो प्रस्तुति गरेका छन् । दुवै पक्षको प्रस्तुतिमा हाल गरिरहेको काम र भविष्यका योजना समावेश छन् । छलफल प्रस्तुतिमाथि केन्द्रीत रहेको आयोगका सहसचिव माधव बेल्वासेले जानकारी दिए ।

बेल्वासेका अनुसार छलफलमा नेपालले जल यातायात सञ्चालनका लागि कोसी र नारायणीमध्ये कुन नदी उपयुक्त हुन्छ भन्ने विषयमा भारतको सुझाव मागेको छ । सबै नदीमा एकैपटक जल यातायात सञ्चालन गर्न सम्भव नरहेको भन्दै नेपालले प्राविधिकरूपमा सम्भव हुने एउटा नदीको नाम सिफारिस गर्न आग्रह गरेको बताइएको छ ।

दुई दिने छलफलपछि स्थलगत अध्ययन गरेर एउटा नदी छानी समयतालिका बनाइ जल यातायात सञ्चालनको काम तीब्र रूपमा अगाडि बढाइने सहसचिव बेल्बासेले बताए । भारतीय अधिकारीसँगको छलफलमा जल तथा ऊर्जा आयोगका अलावा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकृतहरू पनि सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनको अन्तिम साता गरेको भारत भ्रमणका क्रममा नेपाललाई जल यातायातले जोड्ने सम्झौता गरेका थिए । त्यही सम्झौता कार्यान्वयनका लागि दुई देशका अधिकृतहरूको बैठक बसेको हो ।

यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);