काठमाडौं, २७ असार । नेपालका पर्यटकीय गन्तव्यमा रमाउँदा दुर्घटनामा परेका पर्यटक तथा तिनका आफन्तले रेस्क्यु शुल्क महँगो भएको गुनासो गर्न थालेका छन् । उद्धार एजेन्सीहरूले रेस्क्युमा मनपरी शुल्क लिने गरेको आरोप आउन थालेपछि नियमन निकायको सक्रियता आवश्यक देखिएको छ । प्रतिस्पर्धात्मक बजारमा हेलिकोप्टर सञ्चालक कम्पनीले कम मूल्यमा रेस्क्यु सेवा दिने गरे पनि उद्धार एजेन्सीले बिनाआधार मनलाग्दी बिल पेस गर्ने गरेको फेला परेको छ ।
रेस्क्युमा बिचौलियाले महँगो मूल्य असुल्दा रेस्क्युप्रति नकारात्मक धारणा विकास भएको छ । एजेन्सीले मनलाग्दी रकम असुल्दा नेपालको रेस्क्यु अन्तर्राष्ट्रिय क्षेत्रको कालोसूचीमा परेको छ।
सन् २०१४ मे २९ मा फ्लाइट कनेक्सन इन्टरनेसनल हेली चार्टर सर्भिस कम्पनीले सोलुखुम्बुको पाङबोचेबाट रेस्क्यु गराएको बिल ११ हजार पाँच सय अमेरिकी डलर पेस गर्यो । पीडित विलियम डाइन वोवनिङले बिल महँगो भन्दै कम गर्न आग्रह गरे ।
हेलिकोप्टर कम्पनीले पेस गरेको बिललाई बेवास्ता गरी कम्पनीले तीन गुण बढी रकम माग गरेपछि उनी असन्तुष्ट बनेका हुन् । उनकै साथी काङ लिङको सन् २०१३ डिसेम्बर २७ मा सोही स्थानबाट रेस्क्यु हुँदा तीन हजार चार सय अमेरिकी डलर मात्र बुझाएको जानकारी उनलाई थियो ।
सन् २०१५ डिसेम्बरमा नीलगिरि साउथ हिमालमा अस्ट्रियाली नागरिक जेरहेर्ड फिंगल बेपत्ता भए । उनको खोजी र उद्धारका लागि कैलाश चार्टर कम्पनीले जिम्मा लिएर फिस्टेल हेलिकोप्टर प्रयोग गर्यो । केही घण्टा खोजी गरी हेली फर्कियो । नियमानुसार नै हेलिकोप्टरले एजेन्सीलाई बिल पेस गर्यो तर एजेन्सीले आधारबिना ५० हजार अमेरिकी डलरको बिल पेस गरी रकम लियो । कैलाशको रेस्क्यु बिललाई आफन्तले विश्वकै महँगो भएको टिप्पणी गरे ।
रेस्क्यु बिल महँगो भएको गुनासो आउन थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विपद् व्यवस्थापन ऐन, नीतिसँग जोडेर रेस्क्युसम्बन्धी कार्यविधि बनाउने तयारी थालिएको जानकारी दिए । ‘खोजी र उद्धारसम्बन्धी कानुनी व्यवस्थाको खोजी भइरहेको छ’, उनले भने, ‘रेस्क्युमा राज्यको पहुँच छैन ।’
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।