काठमाडौं, २३ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टीको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले स्थायी समिति सदस्यहरुबाट प्राप्त सुझावलाई समेत समेटेर नियमावलिलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेता बामदेव गौतम, महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा बादल सदस्य रहेका छन् । नियमावलीको अभावमा भातृ संस्थाको एकीकरण प्रक्रिया रोकिएका् छ ।
कार्यदलले २६ गतेभित्र स्थायी समिति सदस्यहरको सुझावसमेत समेटेर नियमावलीलाई अन्तिम रुप दिने र सचिवालय बैठकले अनुमोदन गर्ने छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएकामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन तथा मातहतका कमिटीको एकता गर्ने सहमति भएको थियो । बैठकमा अनसनरत चिकित्सक डा. गोबिन्द केसीका जायज माग सम्बोधन गर्नेबारे पनि छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।