काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी समितिले पार्टीको नियमावलीलाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको स्थायी समितिको बैठकले प्राप्त सुझाव समेटेर नियमावलीलाई अन्तिम रुप दिने जिम्मा सचिवालयलाई दिएको हो । बैठकले भातृ संस्थाको एकीकरण टुंगो लगाउने जिम्मा पनि सचिवालयलाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यद्यपि, पार्टी नियमावलीले अन्तिम रुप पाएपछि भातृ संस्थाको एकता अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएकामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन तथा मातहतका कमिटीको एकता गर्ने सहमति भएको थियो । बैठकमा सरकारको आलोचना भएको छ । दुई तिहाई मत हुँदा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना भएको हो । अधिकांश नेताले मन्त्रीहरुले लापर्वाही ढंगले काम गर्दा परिणाम नदेखिएको बताएपछि सरकारका कामको समीक्षाका लागि अर्को बैठक बोलाउने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारका कामको बचाउ गर्दै चौतर्फी प्रहार भएको भन्दै प्रतिवाद गर्न आग्रह गरेका थिए । उनले गोविन्द केसी र गंगामाया अधिकारीको अनसनदेखि सरकारका कतिपय निर्णयलाई लिएर चौतर्फी प्रहार भएको भन्दै एकस्वरमा प्रतिवाद गर्न पार्टीका नेताहरुसँग आग्रह गरेका हुन् ।




