दिपक श्रेष्ठ
बर्दिया, २१ असार । बर्दियाका कृषकहरुले खेतियोग्य जमिनमा विरुवा रोप्न थालेका छन् । काम गर्ने कामदार नभएको र बाढीले बालीमा क्षति पुर्याउन थालेपछि कृषकहरुले खेतियोग्य जमिनमा विरुवा रोप्न थालेका हुन् ।
बर्दिया कृषिका लागि उर्भर मानिन्छ । तर, कृषकहरुले खेतीयोग्य जमिनमा विरुवा रोप्न थालेका छन् । युवाहरु विदेश पलायन भएपछि कृषि क्षेत्रमा काम गर्ने कामदार नहुनु र बाली लगाए पनि बाढीले क्षति गर्ने भएकाले कृषकहरुले विरुवा रोप्न थालेका हुन् । बाली लगाउन धेरै महंगो भएकाले खेतबारी बाँझै राख्नुको सट्टा विरुवा रोप्न सुरु गरेको कृषकहरुको भनाइ छ ।
जिल्ला वन कार्यालयले विरुवाहरु निशुल्क वितरण गरेपछि विरुवा रोप्नेको संख्या बढ्दै गएको छ । कृषकहरुले १ सय ७० बिघा भन्दा बढिमा विरुवा रोपेर निजि वनको रुपमा दर्ता गरेका छन् ।
जिल्ला वन कार्यालयले निजि वन कार्यक्रम अन्तर्गत ४ लाख विरुवा निशुल्क वितरण गर्ने भएको छ । कार्यालयका अनुसार निजि वन दर्ता गर्न आउने कृषकको संख्या बढेको छ ।
बर्दियामा कर्णाली, गेरुवा, बबइ नदी र मान खोलाले बर्सेनि क्षति गर्ने गरेको छ । बाढी र डुबानबाट जोगिन पनि कृषकहरु विरुवा रोप्न आकर्षति भएका हुन् ।