काठमाडौं, १८ असार । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय स्तरीय विपद व्यवस्थापन समन्वय समिति गठन गरेको छ । अविरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालय स्तरीय विपद व्यवस्थापन समन्वय समिति गठन गरेको हो ।
बाढि, पहिरो र डुबानलगायतको जोखिमबारे सर्वसाधारणलाई मन्त्रालयको तर्फबाट पूर्व सावधानीका लागि आवश्यक सर्तक गराउने उद्देश्यका साथ विपद व्यवस्थापन समन्वय समिति गठन गरिएको मन्त्री वर्षमान पुनले जानकारी दिए।
मन्त्रालय अन्तरगतको जलस्रोत महाशाखाका प्रमुख महेश्वर नरसिंह केसीको नेतृत्वमा गठित समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिंचाई विभाग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण र जल उत्पन्न प्रकोप व्यवस्थापन शाखाका प्रमुखहरु रहेका छन् ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले डुबान भएका ठाउँहरुमा मानवीय क्षति हुन नदिन विद्युत आपूर्ति बन्द गर्ने लगायतका सावधानी अपनाइएको जानकारी दिए । उनले हालसम्म विद्युत सबस्टेशन बन्द हुने गरी डुबान समस्या नदेखिएको बताए ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले बाढि, पहिरो र डुबान हुने ठाउँहरुमा उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।