काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका क्रममा विगतमा गरिएको सम्झौता कार्यान्वयनमा जोड दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धलाई अझै सुदृढ बनाउन चिनियाँ नेतृत्वसँग स्पष्ट दृष्टिकोण राख्ने स्पष्ट पारे । मंगलबारबाट सुरु हुने आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभालाई औंपचारिक जानकारी गराउँदै उनले भ्रमण मुलुकको वृहत्तर हितमा केन्द्रित हुने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले पारवहन, रेल सेवा संचालन, उर्जा क्षेत्रको विकास गर्ने विगतको सहमति कार्यान्वयनमा तीव्रता दिन आफ्नो भ्रमण केन्द्रित हुने स्पष्ट पारे । उनले भ्रमणका क्रममा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणालाई अघि बढाउने विषयमा पनि छलफल गरिने बताए ।
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जीनपीङ र समकक्षी लि खछयाङसँगको भेटमा दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाईमा पु¥याउने गरी स्पष्ट दृष्टिकोण राख्ने पनि बताउनु भयो ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा तातोपानी नाका खुवाउने विषयमा पनि कुरा गर्ने बताउनु भयो । उनले नेपालको विकासमा चिनिया लगानी बढाउन पनि आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले नेपाली भूमिका चीन विरोधि गतिविधि हुन नदिने दृढता पनि व्यक्त गर्नु भयो । उहाँले चीन समस्यारहित मित्र भएको उल्लेख गर्दै उसले मुलुकको विकासका लागि सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन आन्तरिक स्रोत, साधन पर्याप्त नभएपछि छिमेकी मुलुकहरुसँगको सम्बन्ध विस्तारमा सरकारले जोड दिएको पनि स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धमा न्यानोपन आएको दावी पनि गर्नु भयो । हवाई रुट परमिट विस्तारे, तराईमा देखिएको डुबान समस्या समाधानका लागि सर्भेक्षणको काम अघि बढाउनु भारतसँगको सम्बन्धमा न्यानोपन आउनुको दृष्टान्त भएको प्रधानमन्त्री ओलीको दावी छ ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सुरक्षाकर्मीसँगै लिएर आएको विषयलाई लिएर अनावश्यक चासो दिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री ओलीले सरकारले छिमेकसँगको सम्बन्ध विस्तार गर्नुको मुख्य उद्देश्य मुलुकलाई समृद्ध बनाउन रहेको पनि बताउनु भयो ।