पोखरा, २ असार । फिर्केखोला अतिक्रमण गरेका संरचना भत्काउन डोजर ठिक्क पारिएको थियो । पैदल मार्ग बनाउने गरी अतिक्रमण भत्काउने क्रम सुरूवात गर्न महानगरपालिकाका मेयर मानबहादुर जिसी डाकिएका थिए ।
जसै डोजर ठिक्क पर्यो, मेयर चालक क्याबिनमा उक्लिए । फरासिला र जोसिला मेयर जिसीले ‘खै खै मैले के गर्नुपर्यो, घुमाउने नै हो त घुमाइदिऊँ’ भन्न के भ्याएका थिए, डोजर घुमिहाल्यो । अन्जानमै मेयरको हातले लिबर गियर समातेपछि निमेषभरमै डोजरको बकेट घुम्यो र भुइँमा बसिरहेका ५ जनालाई लाग्यो । २ जना पत्रकार, एक जना वडा सदस्यसहित ५ जना खोलामा खसिहाले । धन्न कसैको प्राण भने गएन ।
पत्रकारहरु रञ्जन अधिकारी र सन्देश श्रेष्ठ अनि वडा सदस्य गौरी पौडेललाई चोट लाग्यो । सन्देशले आफूलाई सम्हाल्दै रञ्जनकै मोटरसाइकलमा उनलाई लिएर अस्पताल पुर्याए । अलि बढी चोट लागेकी गौरीलाई अस्पताल लगियो । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । खोलामै खसे पनि अरु २ जनालाई भने खास चोट लागेको थिएन । पत्रकारद्वय सामान्य उपचारपछि घर फर्के । मेयर जिसीले उद्घाटन गर्दै गरेको फोटो खिच्दै गरेका पत्रकार र स्थानीयलाई स्काभेटरले रेलिङसहित घसारेर खोलाको किनारमा पुर्याएको हो । मेयर जिसीले डोजरको क्याबिनमा चालकबाहेक अरु पनि बसेको र उनीहरुमध्येका एकजनाले अचानक समातिदिँदा डोजर घुमिहालेको प्रतिक्रिया दिएका छन् ।
पोखराको फिर्केखोला किनारमा शुक्रबारदेखि फुट ट्र्याक निर्माण सुरु भएको छ । पोखरा ५ पस्र्याङस्थित फिर्केखोला किनारबाट फुट ट्र्याक निर्माण सुरु भएको हो ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।