टिप्पणी –
काठमाडौं, २९ जेठ । निर्वाचनको पराजयपछि आन्तरिक कोलाहलमै रहेको नेपाली कांग्रेसभित्र नयाँ समीकरण देखिएको छ । ०७२ साल फागुनमा भएको १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अर्जुनरसिंह केसी र कृष्ण सिटौला नेता रामचन्द्र पौडेल पक्षमा उभिएका छन् । यसबाट देउवा भातृ संगठनदेखि केन्द्रीय समितिसम्म कमजोर बन्दै गएको देखिएको छ ।
नेपाली कांग्रेसको २०७२ सालमा भएको तेह्रौं महाधिवेशनको समीकरण भत्किएको छ । देउवा प्यानलमै बसेर महामन्त्री लडेका अर्जुनरसिंह केसी र दोस्रो चरणमा रामचन्द्र पौडेलविरुद्ध देउवालाई सहयोग गरेका कृष्ण सिटौलाले देउवाविरुद्ध उभिएर रामचन्द्र पौडेलसँग हात मिलाएका छन् ।
तर, नयाँ समीकरणमा महामन्त्री शशांक कोइराला लगायत भने खुलेका छैनन् । नेविसंघ काठमाडौंको आयोजनामा सार्वजनिक गरिएको नयाँ समिकरण घोषणा कार्यक्रममा महामन्त्रीसहित कोइराला परिवारका सदस्य अनुपस्थित थिए ।
नयाँ समीकरणमा नेता पौंडेल, पूर्वमहामन्त्री सिटौंला अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंह, देउवा प्यालनबाट महामन्त्री लडेका केसीसहित युवा नेताहरु गगन थापा, नविन्द्रराज जोसी तथा प्रदिप पौडेल छन् ।
पहिला सँगै भए पनि १३औं महाधिवेशनमा विभाजित बनेका नेताहरु पुरानैं ठाउँमा उभिएका हुन् । अधिकांस भ्रातृ संगठनमा बहुमतमा रहेको दाबी गरेका नेताहरुले प्रारम्भमा देउवा पक्षको नेतृत्वमा रहेको ट्रेड युनियन कांग्रेस हत्याउने रणनीति बनाएका छन् ।
विगतका तिक्तता समेत पोखेर मन माझामाझ गरी एकता गरेका नेताहरुले अहिले भातृ संगठन कब्जा गदैं १४औं महाधिवेशनबाट देउवालाई विस्थापित गर्ने रणनीति बनाएका हुन् ।
नयाँ समीकरणमा कांग्रेसको सधैँ मियो बनेर बसेका कोइराला समूह खुलेर नलाग्दा त्यसको हैसियतमा प्रश्न खडा भएको छ । नयाँ समीकरणलाई नियालेर बसेको कोइराला परिवार देउवा समूहको विश्वास लिएर सर्वशक्तिमान बन्ने गृहकार्यमा रहेको राजनीतिक विश्लेषण हुन थालेको छ ।




