एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनबीचको बहुप्रतिक्षित वार्ता सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिंगापुरको सेन्तासा आइल्याण्डस्थित होटल क्यापेलामा केहीबेर पहिले वार्ता सुरु भएको हो । ट्रम्प उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बनेका छन् । वार्तास्थलको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ । वार्तास्थलमा अन्तर्राष्ट्रिय संचार माध्यमका प्रतिनिधिको भीड लागेको छ ।
कोरियाली प्रायद्वीपमा तनाव अन्त्य गर्ने उद्देश्यका साथ सुरु भएको ट्रम्प र किमबीचको अभूतपूर्व शिखर वार्तालाई विश्वभर निकै चासोका साथ हेरिएको छ । सामूहिक भेटवार्तापछि ट्रम्प र किमबीच एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खानेलगायतका कार्यक्रम तय गरिएका छन् ।
ट्रम्पले वार्तालाई शान्ति प्राप्तिका लागि एक पटकको अवसर भनी टिप्पणी गरेका छन् । ट्रम्पले वार्तापछि कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरणतर्फ डो¥याउने विश्वास लिएका छन् । उत्तर कोरियाले पनि निशस्त्रीकरणका लागि आफू इच्छुक रहेको बताएको छ । तर त्यसको बदलामा उसले के खोज्नेछ भन्ने चाहिं प्रष्ट भएको छैन ।
वार्ता सुरु हुनु केही घण्टा पहिले ट्रम्पले किमसँग भेटवार्ता गर्न नहुने तर्क गर्दै आएका आफ्ना आलोचकहरूको आलोचना गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प किमसँगको शिखर वार्ता लगत्तै आज बेलुका अमेरिका फर्किने कार्यक्रम छ ।