प्रेम भाट
बैतडी, २८ जेठ । जनता आवास कार्यक्रम अन्तर्गत बैतडीका विपन्न समुदायका नागरिकले ऋण काडेर घर बनाउन सुरु गरे । तर कार्यक्रमले रकम उपलब्ध नगराउँदा निर्माण कार्य अलपत्र हुनुका साथै ऋणमाथी ऋण थपिएको पीडितहरुको गुनासो छ ।
सरकाले विपन्न नागरिकको घर निर्माणका लागि जनता आवास कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तर्गत बैतडीका विपन्न समुदायका नागरिकले पनि ऋण काडेर घर बनाउन थाले । कार्यक्रम अन्तर्गत बैतडीका ५ सय परिवार तथा दार्चुला र बझाङका एक–एक सय परिवारको घर निर्माण सुरु गरिएको थियो ।
लाभग्राहीले ९० प्रतिशत काम सक्दा समेत रकम नपाएको गुनासो गरेका छन् । पहिलो किस्ता ५८ हजार, दोस्रो र तेस्रो किस्ता ७०/७० हजार र चौथो किस्ता ३५ हजार रुपैयाँ दिने प्राधान छ ।
कार्यक्रमको जिम्मेवारी लिएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीले बजेट अभावका कारण लाभग्राहीलाई रकम दिन नसकिएको बताएको छ ।
गत आर्थिक बर्षमा ५ सय परिवारका लागि सञ्चालित कार्यक्रम फेरी ५ सय परिवारका लागि थपिएको छ । तर पुरानो रकम भुक्तानी नहुदा नयाँ कार्यक्रमको काम अगाडी बढेको छैन । सरकारले ऋणमाथी ऋण थपिदिएको भन्दै लाभग्राहीले तत्काल रकम उपलब्ध गराउन माग गरेका छन् ।