काठमाडौं, २६ जेठ । पित्तथैलीको क्यान्सरका कारण सिकिस्त विरामी भएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई उनकै इच्छाअनुसार जन्मघर गोरखा पु-याएर फर्काइएको छ ।
आज दिउँसो न्युरो अस्पताल बाँसबारीबाट हेलिकाेप्टरमा देवकोटालाई उनको जन्मथलो गोरखा पालुङटार नगरपालिकाको आँपपिपल पण्डित गाउँ पु-याइएको थियो । देवकोटाले आफ्नै जन्मघरको पिँढीमा बस्ने र सिस्नेधाराको पानी खाने इच्छा पूरा गरेपछि उनलाई लगत्तै हेलिकोप्टरमार्फत नै काठमाडौं ल्याइएको हो ।
देवकोटालाई जन्मथलो पु-याउँदा उनको स्वागतका लागि ठूलो संख्यामा स्थानीय जम्मा भएका थिए । घर नजिकै दुईवटा हेलिप्याड बनाएर देवकोटालाई जन्मघरमा ओरालिएको थियो । पित्तथैलीको क्यान्सरका कारण देवकोटा अहिले सिकिस्त छन् ।