एजेन्सी , २६ जेठ । ठूला औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनको शिखर बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्य नेताहरूबीच तीव्र मतभेद देखिएको छ । क्रिमियालाई आफूमा गाभेपछि समूहबाट निकालिएको रुसलाई फेरि समावेश हुन अमेरिकी राष्ट्रपति ट्रम्पले आश्चर्यजनक रूपमा आग्रह गरेपछि क्यानडाको क्युबेकमा जारी बैठकमा तीब्र मतभेद भएको हो ।
जी सेभेनमा सहभागी हुन ट्रम्पले रुसलाई आग्रह गरेपछि जर्मन चान्सलर एंगेला मर्केलले शिखर बैठकमा सहभागी अरू सदस्य राष्ट्र त्यसको विपक्षमा रहेको बताईन । बैठकमा ट्रम्प प्रशासनले हालै स्टील र एल्मुनियमको आयातमा लगाएको करसम्बन्धी विषय हावी भएको छ । क्यानडाले ट्रम्प प्रशासनले लगाएको कर गैरकानूनी भएको बताएको छ ।
युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले व्यापार, जलवायु परिवर्तन र इरानबारेको ट्रम्पको अडानले खतरा उत्पन्न गराएको बताए । शिखर बैठकको अन्त्यमा संयुक्त वक्तव्य जारी नहुने हल्ला चलेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।
केही दिन पहिले जी सेभेनमा आवद्ध मुलुकका विदेशमन्त्रीहरुको बैठक पनि संयुक्त वक्तव्य जारी नगरी सम्पन्न भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले भने वक्तव्य जारी हुनेमा आफू विश्वस्त रहेको बताए ।