काठमाडौं, २४ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश २ को सरकारबाट नहट्ने स्पष्ट पारेको छ । राष्ट्रिय जनता पार्टी, नेपालको बिहिबार बसेको अध्यक्ष मण्डलको बैठकले प्रदेश २ मा संघीय समाजवादी फोरम, नेपाल नेतृत्वको सरकारबाट नहट्ने प्रष्टयाएको हो ।
राष्ट्रिय जनता पार्टी, नेपाल प्रदेश २ को सरकारबाट हट्ने अडकलबाजी भईरहेका बेला पार्टीले त्यसलाई निरन्तरता दिएरै अघि बढ्ने अडान यथावत रहेको जनाएको छ ।
त्यसैगरी बैठकले प्रदेश २ को सरकारविरुद्ध कुनै पनि प्रकारको नकारात्मक टिप्पणी नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएको नेता केशवकुमार झाले जानकारी दिए ।
बैठकले भोलि शुक्रबार बोलाइएको पार्टीको राजनीतिक समितिको बैठक असार ४ सम्मका लागि स्थगित पनि गरेको छ । पार्टीले संसदीय दलको विधान र पार्टी महाधिवेशनको तयारीको कामलाई पनि अघि बढाइएको जनाएको छ ।