सैन्य टोलीको फ्रान्स भ्रमण सरकारद्वारा अस्वीकृत | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

सैन्य टोलीको फ्रान्स भ्रमण सरकारद्वारा अस्वीकृत

sena helicopter

काठमाडौं, १९ जेठ । फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जाने भनिएको सैनिक टोलीको भ्रमण रद्द भएको छ।

हेलिकप्टर खरिद गर्नुअघि इन्जिनियर र पाइलटसहितको सैन्य टोली जेठ पहिलो साता प्रि–डेलिभर इन्सपेक्सनका लागि फ्रान्स जान लागेको थियो। सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सैन्य टोली फ्रान्स जाने भनिए पनि अन्तिममा भ्रमण रद्द भएको बताए।

सुत्रका अनुसार फ्रान्स जाने भनिएको टोलीलाई सरकारले स्वीकृति नदिएपछि भ्रमण रद्द भएको हो। सेनाले आफैले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको ‘स्पेसिफिकेसन’ भन्दा बाहिर गएर हेलिकप्टर खरिद गर्न लागेपछि ‘प्रि–डेलिभर इन्सपेक्सन’ का लागि जान लागेको टोलीको भ्रमणका लागि सरकारले स्वीकृति नदिएको स्रोत बताउँछ।

सेनाले भने सरकारले पछिल्लो समय विदेश भ्रमणमा गरेको कडाइका कारण उक्त भ्रमण रद्द भएको बताएको छ। नेपालबाट गएको प्राविधिकसहितको टोलीले जाँच गरेर सहमति जनाएपछि उक्त हेलिकप्टर नेपाल ल्याइने सेनाले जनाएको थियो।

सेनाले प्रि–डेलिभर इन्सपेक्सनका लागि जाने भनिएको टोली फ्रान्स नगए पनि हेलिकप्टर खरिद प्रक्रिया नरोकिने जनाएको छ। ‘हेलिकप्टर खरिद प्रक्रिया अघि बढिसकेको छ, भ्रमण नहुँदैमा खरिद प्रक्रियामा कुनै असर पर्दैन,’ एक उच्च सैनिक अधिकारीले भने।

नेपाली सेनाले २५ लाख ६८ हजार तीन सय ७६ युरोमा फ्रान्समा बनेको उक्त हेलिकप्टर खरिद गर्ने निर्णय गरेको हो। विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि लाइट हेलिकप्टर खरिद गर्न सेनाले बोलपत्र माग गरेपछि फ्रान्स र अमेरिकाका हेलिकप्टर निर्माता कम्पनीले बोलपत्र पेस गरेका थिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);