काठमाडौं, १९ जेठ । मुलुकमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको सरकारी तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार वर्षेनी सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जाने गरेको छ ।
आव २०६८-६९ देखि २०७४-७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १३ हजार ९ सय ३१ को मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विगत सात वर्षमा देशभरि भएका ६४ हजार १ सय ६८ वटा दुर्घटनामा १३ हजार ९ सय ३१ जनाले अनाहकमा ज्यान गुमाएका छन् ।
चालु आव २०७४-७५ को वैशाख मसान्तसम्म भएका ९ हजार ५० वटा दुर्घटनाबाट मात्रै २०९७ जनाको मृत्यृ भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले चालक तथा अन्य व्यक्तिबाट हुने मानवीय त्रृटि, सडक तथा भौगोलिक दूरावस्थाका कारण दुर्घटना हुने गरेको बताए । गल्ती गर्नेहरूलाई ट्राफिकहरूले पटकपटक कार्वाही गर्दा समेत सवारी चालकहरूले त्यसलाई संवेदनशीलतापूर्वक ग्रहण गर्न नसक्दा समेत दुर्घटना हुने क्रम बढेको उनले बताए । ‘हाम्रो लाइसेन्स वितरण प्रणाली नै त्रुटिपूर्ण छ, यसमा आमूल सुधार नहुँदासम्म दुर्घटना क्रम बढिरहन्छ’, प्रहरी प्रवक्ता क्षेत्रीले भने ।
गृह मन्त्रालयका विपत व्यवस्थापन महाशाखा प्रमुख सहसचिव केदार न्यौपानेले विभिन्न खाले सडक दुर्घटनाबाट औसतमा वर्षेनी २ हजार व्यक्तिको मृत्यु हुने कहालीलाग्दो अवस्था रहेको बताए । सहसचिव न्यौपानेले सडकको दूरावस्था, सरकारी संयन्त्रको समन्वयको अभाव र चालकको लापारवाहीका कारण सडक दुर्घटना हुने क्रम बढ्दै गएको जानकारी दिए ।
सडकको अवस्था हेर्ने सडक विभाग, गाडीको अवस्था हेर्ने ट्राफिक र यातायात व्यवस्था कार्यालयबीच उचित समन्वय हुन नसक्दा कहालीलाग्दा दुर्घटनाहरू हुने गरेको पनि सहसचिव न्यौपानेले दाबी गरे ।
सडक दुर्घटनामा कुन वर्ष कतिको ज्यान गयो ?
आर्थिक वर्ष २०६८-६९ –१८३७
आर्थिक वर्ष २०६९-७० –१८१६
आर्थिक वर्ष २०७०-७१ –१७८७
आर्थिक वर्ष – २०७१-७२ –२००४
आर्थिक वर्ष –२०७२-७३– २००६
आर्थिक वर्ष २०७३-७४ –२३८४
आर्थक वर्ष २०७४-७५– २०९७
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।