काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले निजी क्षेत्रको अपेक्षा अनुसार बजेट ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघकी अध्यक्ष भवानी राणाले विगतको न्यून आर्थिक वृद्धिदर, उच्च व्यापार घाटा र दबाबमा परेको शोधान्तर स्थितिलाई नियन्त्रणमा ल्याउने दिशामा बजेट नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
यसअघि बजेट आएलगत्तै महासंघकी अध्यक्ष राणाले बजेटबारे सकारात्मक प्रतिक्रिया दिएकी थिइन् । आज आयोजित पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले डरलाग्दो अवस्थामा रहेको शोधान्तर घाटा कम हुने गरी सरकारले बजेट नल्याएको बताए ।
उनले रोजगारी सृजना गर्न आवश्यक उद्योग स्थापनाका लागि पनि बजेटले अपेक्षित दिशा दिन नसकेको बताए । विदेशी लगानी भित्र्याउने दिशामा पनि बजेटले पहलकदमी लिन नसकेको वरिष्ठ उपाध्यक्ष गोल्छाको टिप्पणी छ । महासंघले आर्थिक वृद्धिदरलाई ८ प्रतिशत पु¥याउने लक्ष्य प्राप्ती पनि चुनौतिपूर्ण रहेको बताएको छ ।




