काठमाडौं, १५ जेठ । इन्डियन प्रिमियर लिग (आइपीएल)का क्रममा नेपालमा बसेर अवैध रुपमा अनलाइन बेटिङ गरेको आरोपमा महानगरिय प्रहरी परिसर काठमाडौंले ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
भारतमा हालै सम्पन्न आइपिएल क्रिकेट प्रतियोगिताका क्रममा नेपालमा बसेर कराडौंको अनलाईन बेटिङ गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गरी नेपाली फुटबल टोलीका पूर्व खेलाडि तथा प्रशिक्षक अन्जन केसीसहित ६ जनालाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार बेटिङमा २७ वर्षका गौरव तिवारीले मुख्य भूमिका निर्वाह गरेका थिए । उनीहरुले ७ करोड १४ लाख ७२ हजारको बेटिङ खेलाएको प्रहरीको दाबी छ । तिवारीले लन्डनको एउटा अनलाइन साइटमा २४ वटा अकाउन्ट खोलेर त्यसैमार्फत् बेटिङ गर्ने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ पर्नेमा काठमाडौका २७ वर्षीय गौरव तिवारी, राष्ट्रिय फूटबल टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक अन्जन केसी, काभ्रेका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोटका २७ वर्षीय दिनेश बोगटी, भक्तपुरका ३६ वर्षीय विजय श्रेष्ठ, तथा भक्तपुरका ३१ वर्षीय नरेन्द्र सुवाल रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई ठगी मुद्धामा कार्बाही गर्ने तयारी गरिएको छ ।
पक्राउ परेका मध्ये पूर्व राष्ट्रिय फुटवल खेलाडी अन्जन केसी यसअघि फुटबलको म्याच फिक्सिङ काण्डमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।