काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिने कार्यकालमा गरेको उपलब्धी सर्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको सयदिने उपलब्धीमा संघियता कार्यान्वयन देखि प्रधानमन्त्रीको रारा भ्रमणसमेत समेटिएका छन् ।
सरकारले सार्वजनिक गरेको सय दिने उपलब्धीमा संघीयता कार्यान्वनदेखि कानुन निर्माण, अर्थतन्त्रमा सुधार, कृषि र सिंचाईको ऐन निर्माणका लागि मस्यौदा निर्माण, उर्जा बृद्धि, उद्योग श्रम तथा रोजगारमा लगानीको प्रतिवद्धता, पर्यटन विकास, पुर्वाधार विकास, पुननिर्माण यातायात क्षेत्रमा देखिएको सिण्डीकेट अन्त्य लगायतका बिषय समेटिएका छन् ।
यस्तै मन्त्रालयको संख्या घटाउनेदेखी प्रधानमन्त्री ओलीको रारा भ्रमणलाई समेत सरकारले उपलव्धि भनको छ । १५ शीर्षक र ८८ बुँदामा सरकारले आफ्ना कामलाई समेटेर सार्वजनिक गरेको उपलव्धीमा संघीयता कार्यान्वयनलाई प्रमुख उपलव्धि ठानेको छ ।
ओली नेतृत्वको सरकारले संघीयता कार्यन्वयन अन्र्तगत ३१ वटा मन्त्रालय घटाएर २१ वटा कायम गरेको, कर्मचारी समायोजन नियामावली २०७४ स्वीकृत गरेको, प्रदेश सरकारका लागि १५ वटा नमुना कानुन तयार गरेको विषयलाई उपलव्धीका रुपमा लिएको छ ।
सरकारले सय दिनको अवधिमा राष्ट्रिय शिक्षा चिकित्सा अध्यादेश २०७५ लगायत चारवटा अध्यादेश स्वीकृत गरेको, सार्वजनिक सुरक्षा ऐन २०४६ संशोधन गर्न बनेको विधेयक संसदमा पेश, भुक्तानी तथा फछ्र्योट विधेयक २०७४, कारागार सम्बन्धी प्रचलित कानुन संशोधन गरेको लगायतका बिषय छन् ।
वैदेशिक सम्बन्ध एवं भारतसँगको सम्बन्ध सुधार भएको, कमजोर बनेको राष्ट्रिय ढुकुटीलाई सबलीकरण गर्न विभिन्न प्रयासको थालनी भएको, भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गरिएको, सार्वजनिक विदा कटौति गरिएको लगायतका विषय पनि सय दिने उपलब्धीमा समावेश भएका छन् ।
त्यस्तै सरकारले कुल लक्ष्यको ९८ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ । सरकारले सय दिनमा राष्ट्रिय गौरवका योजनामा श्रोत कमी हुन नदिन १५ अर्ब २४ करोड रुपैयाँ निकासा गरेको जनाएको छ ।
सरकारले साना आयोजनाका २८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडमा जोडेको २ सय १२ मेगावाट क्षमताका ११ वटा आयोजनालाई विद्युत उत्पादन अनुमतिपत्र जारी गरेको लगायतका बिषयलाइ पनि सय दिने उपलब्धी ठानेको छ ।
सय दिनमा सरकारले ९१ वटा ठुला उद्योग दर्ता गरेर ४६ अर्ब बैदेशिक लगानीसहित ९८ अर्व बराबरको लगानी प्रतिवद्धता आएको जनाएको छ ।