काठमाडौं, ११ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गुणस्तरीय काम गर्न निर्माण व्यवसायीहरुलाई कडा निर्देशन दिएका छन् ।
मन्त्री महासेठले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको संकल्प पूरा गर्न पनि निर्माण व्यवसायीहरुले आफ्नो कामलाई गुणस्तरीय बनाउनुको विकल्प नरहेको स्पष्ट पारे ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चीनको विकास, निर्माणको कामबाट सिकेर अघि बढ्न निर्माण व्यवसायीहरुको ध्यानाकर्षण गराए ।
मन्त्री महासेठले सरकारले १० वर्ष भित्र मुलुकलाई विकसित राष्ट्र बनाउने लक्ष्य लिएको स्मरण गराउँदै त्यसलाई पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने बताए । मन्त्री महासेठले सरकारले विकास, निर्माणका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।