काठमाडौं, १० जेठ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रममा लक्ष्य प्राप्तीको सैद्धान्तिक आधार कमजोर रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममाथ्किो छलफलमा भाग लिँदै उनले कार्यक्रम सुन्दर भए पनि लक्ष्य प्राप्तीको आधार कमजोर भएको टिप्पणी गरे । ५ बर्षमा आय दोब्बर, कृषि उत्पादनलाई दोब्बर, ५ बर्ष पछि वैदेशिक रोजगारीमा जानुनपर्ने लगायत विद्युत्, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा सरकारले लिएको लक्ष्य पुरा हुने सैद्धान्तिक आधार नभएको उनको भनाइ छ ।
भौगोलिक परिवेश, पुर्वाधार र आवश्यकताका आधारमा केही विशेष वर्ग र स्थानलाई प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड छ । त्यस्तै उनले नीति तथा कार्यक्रममा संघीय सरकारलाई आत्मसाथ नगरिएको भन्दै लक्ष्य प्राप्तीको समय तालिका र आधार स्पष्ट पार्न सुझाव दिए । उदारवाद र राज्यकेन्द्रीत समाजवाद भन्दा माथि उठेको विकास नीति लिँदै पार्टी र राजनीतिक विचारधार भन्दा माथि उठेर राज्यलाई केन्द्रमा राखेर काम गर्न सक्नुपर्नेमा उनको जोड छ । उनले २० सौ शताब्दीको कम्युनिष्ट ढाँचा अपनाएर विकास र सम्वृद्धिको लक्ष्य हासिल गर्न नसकिने दाबी गरे ।