काठमाडौं, ७ जेठ । सरकारले चिनियाँ भाषामा नेपाल टुरिजम वेबसाईट संचालनमा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाईटको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले चिनियाँ पर्यटकहरुको गुणात्मक वृद्धि गर्न चिनियाँ भाषामै वेबसाईट संचालन गरिएको स्पष्ट पारे।
उनले आगामी १० वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु-याउने सरकारको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।
मन्त्री अधिकारीले पर्यटन क्षेत्र नै मुलुकको आर्थिक समृद्धिको मूल आधार रहेको उल्लेख गरे । उनले नेपालको आर्थिक विकासमा चीन सरकारले पु-याउँदै आएको योगदानको खुलेर प्रशंशा गरे ।
कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यू होङले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्य पुरा गर्न चीन सरकार नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।
उनले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको माध्यमबाट समृद्धिको दिशामा अघि बढेको स्पष्ट पारे । राजदुत होङले नेपाल र चीनबीचको सम्बन्ध अझै घनिष्ट हुँदै जाने विश्वास पनि व्यक्त गरे ।