एजेन्सी, ५ जेठ । ल्याटिन अमेरिकी मुलुक क्युबामा बोइङ ७३७ विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा परी एक सय सात जना मानिसको मृत्यु भएको छ ।
ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विमान दुर्घटनामा चालक दलका ६ सदस्यसहित एक सय सात जना मानिसको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये अधिकांश यात्रु क्युबाका हुन् भने चालक दलका सदस्य मेक्सिकोका हुन् ।
विमानमा १ सय १० जना सवार थिए । विमान दुर्घटनामा तीन जना बाँच्न सफल भएका छन् । उनीहरू गम्भीर घाइते रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तरी शहर ओल्गीनतर्फ गइरहेको बोइङ ७३७ विमान विमानस्थल नजिकैको खेतमा जोतिएको थियो । खेतमा जोतिएपछि विमानमा आगो लागेको थियो ।
क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो । दुर्घटना भएको विमान ३९ वर्ष पुरानो हो । दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको क्युबाका अधिकारीहरूले बताएका छन् ।