एजेन्सी, ३१ बैसाख । चेन्नई सुपर किंग्स इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा छनौट भएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरी चेन्नई सुपर किंग्स प्लेअफमा छनौट भएको हो ।
सनराइजर्सले दिएको १ सय ८० रनको लक्ष्य चेन्नईले १९ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो । चेन्नईको जितमा अम्बाती रायदुले अविजित एक सय रन बनाए । अम्बातीले शतक प्रहार गर्ने क्रममा ७ चौका र ७ छक्का प्रहार गरे । चेन्नईको जितमा अर्का ओपनर शन वाटसनले ५७ रन बनाए ।
टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्सले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ७९ रन बनाएकामा शिखर धवनले ७९ तथा केन विलियम्सनले ५१ रनको योगदान गरेका थिए ।
गएराति नै भएको अर्को खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेर राजस्थान रोयल्सले प्लेअफमा छनौट हुने सम्भावना बलियो बनाएको छ । राजस्थानले मुम्बईलाई ७ विकेटले पराजित गरी १२ खेलबाट १२ अंकसहित प्लेअफमा छनौट हुने सम्भावना बलियो बनाएको हो । राजस्थानले मुम्बईले दिएको १ सय ६९ रनको लक्ष्य १८ ओभरमा पूरा ग¥यो । राजस्थानका लागि जोस बटलरले अविजित ९४ रन बनाए ।
आइपीएल अन्तर्गत आज किंग्स इलाभेन पञ्जाब र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने छ । प्लेअफमा छनौट हुने सम्भावना जीवित राख्न रोयल च्यालेन्जर्सलाई आजको खेल जित्नैपर्ने दबाब छ । रोयल च्यालेन्जर्स जम्मा ४ जितसहित सातौं स्थानमा छ भने किंग्स इलाभेन पञ्जाब ६ जितसहित तेस्रो स्थानमा छ ।