काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले मोदीसँग भएको समझदारीबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउने क्रममा आफू र मोदीबीच दुई देशको सम्बन्ध मजबुत तुल्याउन गम्भिर कुराकानी भएको बताए । उनले भारतले जथाभावीरुपमा बनाएको बाँधका कारण वर्षाका बेला नेपाली भूमि डुबानमा परी हजारौंले पीडा भोग्नुपर्ने अवस्था रहेको बताएको र मोदीले आगामी वर्षा अगावै डुबानको समस्या समाधानका लागि कार्यदल गठन गर्ने वचन दिएको जानकारी गराए ।
उनले अदुवा, अलैंची लगायत नेपाली वस्तुले भारतीय बजारमा सहज पहुँच नपाएको र हवाइ रुटका विषयमा पनि मोदीसँग छलफल भएको जानकारी दिंदै आगामी सेप्टेम्बरसम्म छलफलको नतिजा देखिने बताए ।