झोलाको भारीले थिचिँदै निजी स्कुलका विद्यार्थी | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

झोलाको भारीले थिचिँदै निजी स्कुलका विद्यार्थी

school bag

काठमाडौं, ३० बैशाख । उनीहरू सानो कक्षामा पढ्छन्, तर झोलाको ठूलो भारीले थिचिएका हुन्छन् । पीडा निजी स्कुलमा पढ्ने बालबालिकाको हो । स्कुलले धेरै पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री, कापी, खाजा अनिवार्य गरेका कारण साना नानीहरूको झोला ठूलै भारी बन्ने गरेको छ ।
सरकारले बालमैत्री विद्यालय र कक्षाकोठाको नीति अवलम्बन गरेको छ । तर, निजी विद्यालयले पूर्वप्राथमिकदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई थेग्नै नसक्ने झोलाको भारी बोकाउने गरेका छन् । कापी–किताबको भारीले उनीहरूले शारीरिक र मानसिक समस्या भोगिरहेका छ ।

कतिपय विद्यार्थीले किताब, कापीको भारी बोक्न नसक्दा बस वा विद्यालयसम्म अभिभावक नै पुग्नुपरेको पनि छ । विद्यार्थीले झोला बोक्न नसकेर लगेज गुडाइरहेका दृष्य पनि देखिने गरेका छन् । तर, खाल्डाखुल्डी भएको धुलाम्मे सडकमा लगेज तान्न पनि सजिलो भने छैन ।

विद्यार्थीलाई शारीरिक र मानसिक समस्या बालबालिकालाई धेरै तौलको झोला बोकाउँदा शारीरिक र मानसिक रूपमा समस्या भएको अभिभावकको गुनासो छ । निर्देशिका निर्माण समितिका सदस्यसमेत रहेका अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले झोलाको तौलको विषय गम्भीर भए पनि त्यसको कार्यान्वयनमा अनुगमन नभएको गुनासो गरे ।

प्राथमिक तहको विद्यार्थीका लागि सबै सामग्रीसहित ४ किलो राख्दा पनि बढी भएको आवाज त्यतिवेलै आफूहरूले उठाएको उनले बताए । केही महिनाअघि बाटोमा हिँड्दै गरेका प्राथमिक तहका बालबालिकाको झोला तौलँदा झन्डै ६ केजी पाएको उनले बताए ।
ठूलो झोलाका कारण बालबालिकामा ढाड दुख्ने समस्या देखिएको गुनासा अभिभावकबाट आउने गरेको भण्डारी बताउँछन् । उनले भने, ‘धेरै भारी बोकेर सिकाइ राम्रो भएको छैन, बालबालिकामा शारीरिक र मानसिक समस्या भएको छ ।’ उनले बालमैत्री विद्यालय बनाउन प्राथमिक तहसम्मका बालबालिकालाई झोला बोक्नु नपर्ने वातावरण सिर्जना गर्नुपर्ने सुझाब दिए ।

थोरै काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श केन्द्र इआरओको अध्ययनअनुसार कामै नगर्ने र धेरै काम गर्ने विद्यार्थीको तुलनामा केही समय काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । इआरओ प्रमुख डा. लेखनाथ पौडेलले भने, ‘विद्यार्थीलाई धेरै भारी बोकाएर सिकाइ बढ्दैन । अरू विकासलाई समेत असर गर्छ ।’ निजी विद्यालयले यी कुरालाई वास्ता नगरेको उनको गुनासो छ ।

इआरओले सन् २०१७ मा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) गरेको थियो । प्रतिवेदनले एकदेखि दुई घन्टासम्म घरायसी काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो देखाएको छ । घरमा काम नै नगर्नेले नेपाली विषयमा ४९६, एक घन्टाभन्दा कम काम गर्नेले ५०३, एक घन्टादेखि दुई घन्टासम्म काम गर्नेले ५०७, दुईदेखि चार घन्टासम्म काम गर्नेले ४९४ र चार घन्टा तथा त्यसभन्दा बढी समय काम गर्नेले ४६९ अंक प्राप्त गरेका छन् । यो अध्ययनले ठूलो भारी बोक्नेभन्दा पनि सामान्य काम गर्ने विद्यार्थीको नतिजा राम्रो देखिएको छ ।
अनुगमनमा चासो कम
शिक्षा विभागले संस्थागत विद्यालय मापडण्ड निर्देशिकामा उल्लेख भएका केही विषयमा अनुगमन गरे पनि झोलाको तौलमा चासो दिएको छैन । मापदण्डभन्दा धेरै तौलको झोला बोकाउने कुनै पनि विद्यालयलाई अहिलेसम्म कारबाही भएको छैन । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले मापदण्डअनुसार शुल्क र व्यवस्थापनमा अनुगमन भए पनि झोलाको तौल प्राथमिकतामा नपरेको स्वीकार गरे । उनले भने, ‘ठूलो झोला बोकाउनु संवेदनशील कुरा हो, त्यसमा कम ध्यान पुगेछ ।’ विद्यार्थीको झोलाको तौललगायत विषयको अनुगमनलाई अब स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने उनले बताए । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);