काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा प्रतिबन्धित भारतीय रुपैयाँबारे पनि नेपालसँग कुराकानी गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
नेपालले यसअघि राजनीति तथा कुटनीतिक माध्यमबाट मोदी सरकारले ५ सय र एक हजारको भारु नोटमा लगाएको प्रतिबन्धका कारण समस्यामा परेका नेपालीका विषयमा जानकारी गराउँदै आएको छ । त्यसैले यसपटक मोदीले नेपालमै आएर त्यसबारे कुराकानी गर्ने र निर्णय सुनाउन सक्ने बताइएको छ ।
मोदी नेतृत्वको सरकारले सन् २०१६ को नोभेम्बरमा कालो धन र आतंकवादलाई निरुत्साहित गर्न भन्दै ५ सय र एक हजारको भारु नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसबाट भारतीय नागरिकमात्रै होइन, नेपाली पनि समस्यामा परे । खुला सीमा र व्यापारका कारण नेपालमा भारु कारोबार हुँदै आएको छ । कुल व्यापारको ठूलो हिस्सा भारतमै निर्भर रहेकाले पनि धेरै नेपालीसँग भारु नोट छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ च्यानलमै देखिएको झण्डै ८ करोड पुरानो भारु नेपालीहरुसँग छ । बैंकबाहेक नेपालीसँग रहेका नोटको यकिन हुन सकेको छैन । बैंकिङ च्यानलमा देखिएको भारु सटही गरिदिन नेपाल राष्ट्र बैंक र आरबीआइका अधिकारीबीच पटक–पटक वार्ता भए । त्यतिमात्रै होइन, दुई देशका प्रधानमन्त्रीबीच पनि टेलिफोन संवाद भएकै हो । तर, नेपालमा भएका प्रतिबन्धित भारु सटहीमा भारतले निर्णय लिएको छैन ।
प्रधानमन्त्रीय कार्यकालमा तेस्रो पटक नेपालको भ्रमण गर्न लागेका मोदीले यसपटक नेपालमा रहेको प्रतिबन्धित भारुबारे निर्णय सुनाउन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नोटमा प्रतिबन्ध लाग्नु पूर्व नेपालका एक व्यक्तिले २५ हजार भारु भारतबाट ल्याउन पाउँथे । आफूसँग भएको भारु सटही गर्न पाइने आसा नेपालीमा अझै मरेको छैन । नेपाल पक्षले पनि यसबारे भारतीय प्रधानमन्त्रीबाट ठूलै अपेक्षा लिएको छ ।




