काठमाडौं, २४ वैशाख । सरकारले सबै स्थानीय तहमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । नेपाल कृषि अनुसन्धान परिषदले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सबै स्थानीय तहमा कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने कार्ययोजना तय गरिएको जानकारी गराएको हो ।
परिषदका कार्यकारी निर्देशक डा. बैद्यनाथ महतोले सबै प्रदेशहरुमा कृषि अनुसन्धान परिषदको क्षेत्रीय कार्यालय संचालनमा ल्याइएको पनि जानकारी दिए । परिषदले भोली २५ गते मंगलबार आफ्नो २७ औं वार्षिकोत्सव कार्यक्रम गर्दैछ।
त्यसै अवसर पारेर परिषदले अव स्थानीय तहमा पनि कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणा गरेको हो । सबै स्थानीय तहमा केन्द्र स्थापनाका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पनि प्रस्ताव पेश गरिएको कार्यकारी निर्देशक महतोले बताए ।
कार्यक्रममा कृषि बैज्ञानिकहरुले कृषि क्षेत्रको विकासका लागि अनुसन्धानको कामलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।