पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पहाडी क्षेत्रमा भीरको बसाइ विकासको बाधकः प्रधानमन्त्री ओली

kp oli

चितवन, २२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाइ विकासको बाधक भएको बताएका छन् । भीरमा बस्दा विकासका पूर्वाधार लैजान कठिन हुनाका साथै भीरमा बस्नेको जीवन पनि असहज हुने ओलीले बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) को पहिलो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले भीरमा घर बनाएर बस्ने प्रचलनलाई परिवर्तन गर्नु आवश्यक रहेको बताए । ‘भीरमा बस्नेले हरेक पटक हिँड्दा ज्यान जोखिममा राखेर हिँड्नुपर्छ, ’उनले भने, ‘भीरमा बस्नु हुँदैन । त्यसैले केही वर्षमा भीरको बसाइ नै अन्त्य गर्छौं ।’ नयाँ वर्षको पहिलो दिन कर्णाली पुगेका प्रधानमन्त्री ओलीले कर्णाली हेर्दा नेपालीको बसाई नै विकासको बाधक भएको आफूले महसुस गरेको बताए।

‘कम्तिमा २० वटा घरको एउटा गाउँ बनाउन १० वटा डाँडा पुग्नुपर्ने ठाउँ छन्,’ उनले भने, ‘त्यस्ता ठाउँमा बाटो, विद्यालय, स्वास्थ्य चौकी पुर्‍याउन कठिन हुन्छ ।’ कर्णाली मात्र नभएर चितवन, धादिङलगायत जिल्लामा भइरहेको भीरको बसाइलाई अन्त्य गरिने प्रधानमन्त्री ओलीको दाबी छ । भीरमा रहेका वस्तीलाई घर, विद्यालय, स्वास्थ्य चौकी लगायतका सुविधा भएको उपयुक्त ठाउँमा स्थानान्तरण गरिने उनले आश्वासन दिए ।

कृषि प्रधान देश भएर पनि देशमा ढिला गरी कृषि विश्वविद्यालय स्थापना भएको प्रधानमन्त्री ओलीले बताए । दुई तिहाई जनता कृषिमा सहभागी भए पनि देशमा कृषिको योगदान एक तिहाई मात्र रहेको बताउँदै ओलीले भने, ‘अब कृषिको आधुनिकरण, व्यावसायीकरण, उन्नत जातका बीउबीजन, सिँचाईको प्रबन्ध र प्राविधिक पक्षमा जोड दिनुपर्छ ।’कार्यक्रममा उनले विश्वविद्यालयबाट दीक्षित विद्यार्थीलाई कृषिको विकास गर्ने अध्ययन र अनुसन्धानमा लागेर देशलाई योगदान दिन आग्रह पनि गरे।

कार्यक्रममा चौधरी चरण सिंह हरियाना कृषि विश्व विद्यालयका उपकुलपति प्रा.डा. के.पी.सिंहले कृषिको परम्परागत पद्धतिलाई परिवर्तन गरेर आधुनिकीकरणमा जोड दिनुपर्ने बताए । धेरैभन्दा धेरै जनता सहभागी भएको कृषि क्षेत्रलाई सरकारले अनुदान उपलब्ध गराएर प्रोत्साहन गर्नुपर्ने उनले सुझाव दिए।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);