काठमाडौं, १९ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सत्य निरुपण तथा मेल मिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई अन्तरिम प्रतिवेदन तयार पार्न आग्रह गरेका छन् ।
नेपाल मानवअधिकार संगठनले बुधबार राजधानीमा गरेको कार्यक्रममा आयोगका अध्यक्ष शर्माले अन्तरिम प्रतिवेदन तयार पारी सरकारलाई बुझाउन दुवै आयोगलाई आग्रह गरे । प्राप्त साधन र स्रोतमा नै प्राप्त उजुरी माथिको सत्य तथ्य पत्ता लगाउन सकिने भन्दै उनले अन्तरिम प्रतिवेदन बनाउन आग्रह गरे ।
दुवै आयोगले अन्तरिम प्रतिवेदन बुझाएपछि गम्भीर प्रकृतिका मानवअधिकार उलंघन गर्ने विरुद्ध मुद्धा चलाउन सरकार बाध्यकारी हुने भन्दै उनले त्यसतर्फ गम्भीर बन्न दुवै आयोगलाई आग्रह गरे ।
दुवै आयोग विघटन गरि नयाँ गठन गर्नुपर्ने वा पदाधिकारीलाई राजीनामा गराउनुपर्ने भन्ने चर्चा चलिरहेका बेला उनले भएको संरचना विघटन गर्दैमा न्याय निरुपण नहुने तर्फ सचेत बन्न आग्रह गरे ।
कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले संक्रमणकाल लम्बिदै जाँदा पीडितले न्याय नपाउने संभावना हावी हुने भएकाले छिटो न्याय निरुपण गरि पीडितलाई न्याय दिनुपर्ने बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सिमित स्रोत र साधन र ऐन अभावका कारण काम गर्न नसकेको बताउँदै आएका छन् ।




