काभ्रेमा आन्तरिक विमानस्थल, मन्त्रीपिच्छेका स्थलगत भ्रमण, नतिजा शून्य | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

काभ्रेमा आन्तरिक विमानस्थल, मन्त्रीपिच्छेका स्थलगत भ्रमण, नतिजा शून्य

kavre ma airport

काठमाडौं, १९ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न काभ्रेमा वैकल्पिक विमानस्थल निर्माण गरिने चर्चाले फेरि प्राथमिकता पाएको छ ।

आन्तरिक उडानलाई व्यवस्थापन गर्न काभ्रेको नागीडाँडा वा ठूलीचौरमा अबको १५ दिनभित्र विमानस्थल निर्माणको टुंगो लाग्ने बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले दुवै स्थानमा विमानस्थल निर्माणका लागि विभिन्न मितिमा प्रारम्भिक अध्ययन गरिसकेको छ ।

झट्ट सुन्दा यो खबरले काभ्रेका बासिन्दा खुसी हुनुपर्ने हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको हवाई चाप पनि काठमाडौंनजिकै बन्ने यो विमानस्थलबाट घट्ने थियो । तर, काभ्रेमा विमानस्थल बन्नेमा यहीँका जनता पनि विश्वस्त छैनन् ।

यहाँ आन्तरिक उडानका लागि विमानस्थल बनाउने चर्चा हरेक सरकारले चलाउने गरेको छ । जब सरकारले आन्तरिक उडानको विमानस्थल बनाउने चर्चा चलाउँछ त्यसपछि काभ्रेको नाम अग्रपंक्तिमा आउँछ ।

लोकतन्त्र स्थापना भएपछिका प्रत्येक सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको एजेन्डामा पर्ने गरेको छ, ‘डोमेस्टिक एयरपोर्ट’ । डोमेस्टिक फ्लाइटका लागि आवश्यक रहेको एयरपोर्टको चर्चा काभ्रेको मण्डन देउपुरको नगरकोटमा रहेको ठूलीचौर, पाँचखाल, भकुण्डेबेंसी, बनेपाको नागीडाँडा, धुलिखेलको देवीस्थान डाँडासँगैको नमोबुद्ध चर्चामा आउने गरेको छ ।

चर्चा मात्रै होइन, प्रत्येक सरकारका पर्यटन तथा उड्डयनमन्त्रीहरूले काभ्रेका विभिन्न ठाउँका स्थलगत भ्रमण पनि गर्ने गरेका छन् । स्थलगत भ्रमणसँगै डीपीआरको चर्चा पनि हुने गर्छ । जसरी चर्चा चुलिन्छ त्यसैगरी चर्चा एकाएक सेलाउने गरेको छ । यस्ता चर्चाले काभ्रेवासीका मनमा अलिकति पनि उत्साहको सञ्चार हुँदैन ।

पूर्वपर्यटन मन्त्रीहरू लोकेन्द्र विष्ट, पोष्टबहादुर बोगटी, कृपासुर शेर्पा, आनन्द पोखरेलले बहालमा रहँदा पटकपटक काभ्रेका डाँडामा डोमेस्टिक एयरपोर्टको नाममा स्थलगत अवलोकन गरेका थिए । तर, ती सबै अवलोकनमै सीमित रहे । हरेकपटक पर्यटनमन्त्री भएसँगै काभे्रमा आएर डोमेस्टिक एयरपोर्टको अनुगमन गर्ने तर एयरपोर्टको सामान्य पहलसमेत नहुने भएसँगै काभ्रेका जनता आजित भइसकेका छन् ।

त्यस्तै, पुराना मन्त्रीहरूको पुनरावृत्ति गराउँदै मंगलबार काभ्रेका तीनवटा नगरपालिकामा स्थलगत निरीक्षण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र सूचना, सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा, सांसद नवीना लामा, गंगाबहादुर दोङ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, चन्द्र लामा, रत्न ढकालसँगै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितको टोलीले काभ्रेका डाँडाको स्थलगत भ्रमण गरेको छ । यसपटक स्थलगत भ्रमणको अगुवाइ भने उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले गरेका हुन् ।

मन्त्रीहरूकै नेतृत्वमा रहेको जम्बो टोलीले काभ्रेको बनेपा नगरपालिका र पनौतीको सिमानामा पर्ने नागिडाँडा, धुलिखेल र पनौतीको सिमानामा रहेको धुलिखेल देवीस्थान डाँडाको ठूलीचौर, नमोबुद्ध नगरपालिका र धुलिखेल नगरपालिकाको सीमामा रहेको चिसापानी डाँडामा पुगेर स्थलगत निरीक्षण गरेको हो । विगतका मन्त्रीले जस्तै हरेकपटक निरीक्षण गर्ने तर कार्यान्वयन नगर्ने भएकाले स्थानीयले मन्त्रीका निरीक्षणमा खासै चासो दिएका छैनन् । ‘यो १० वर्षदेखिको नारा हो, सरकारले काभ्रेमा एयरपोर्ट बनाउने विश्वासै दिलाउन सकेको छैन,’ स्थानीय कृष्णप्रसाद बञ्जाराले सुनाए ।

नेकपा माओवादीका नेता पोष्टबहादुर बोगटी पर्यटनमन्त्री भएको समयमा धुलिखेल उद्योग वाणिज्य संघको विशेष पहलमा धुलिखेलको देवीस्थान डाँडामा आन्तरिक विमानस्थल बनाउने अन्तिम प्रयास भएको चर्चा चलेको थियो । तर, अन्तिम समयमा आएर धुलिखेलको विमानस्थलको चर्चा कम हुँदै गएको थियो । त्यसपछि सरकारका मन्त्रीले काभ्रेको नगरकोटसँगै रहेको ठूलीचौरमा विमानस्थलको चर्चा चलाएका थिए । उद्योग वाणिज्य संघ काभ्रेका सचिव रवीन्द्र वैदार काभ्रेमा विमानस्थलको आवश्यकता रहेको बताउँछन् ।

उनले त्रिभुवन विमानस्थलको चापलाई कम गराउन काभ्रेमा विमानस्थलको विकल्प नरहेको बताए । सरकारले हेरेको धुलिखेल, बनेपा र नमोबुद्धमा जहाँ उपयुक्त छ त्यहाँ विमानस्थलको बनाउने वातावरण गर्न उनले सरकारसँग अनुरोध गरेका छन् ।

यसपटक भने अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । अनुगमनपछि धुलिखेलमा भएको स्थानीय सरोकारवालाहरूसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आवश्यकता, स्थानीय बासिन्दाको भावना, रुट तथा लागतलाई ध्यान दिएर १५ दिनभित्रमा विज्ञहरूसहितको टोलीले प्रतिवेदन पेस गर्नेगरी द्रुत गतिमा काम अघि बढ्ने बताए । उनले भने, ‘भोलिसम्ममै विज्ञहरूको टोल आएर तत्कालै काम अघि बढ्छ, त्यसपछि कुन ठाउँ उपर्युक्त भनेर टुंगो लाग्नेछ ।’

कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल बनाउँदा स्थानीयको स्वामित्वको कुरा पनि भएकाले त्यसलाई मिलाएर अगाडि बढाउनका लागि पनि अन्तक्र्रिया कार्यक्रम राखिएको बताए । उनले काठमाडौंबाट विभिन्न विमानस्थलमा जाने र त्यहाँको चापलाई कम गर्नका लागि काठमाडौंबाट नजिकैका जिल्लामध्ये काभ्रे जिल्लाका केही स्थानको प्रारम्भिक सर्वेक्षण गरिएको बताए । आजको राजधानी दैनिकमा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);