कर्जा रोकेका बैंकको नाफा वृद्धिदर आधा घट्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

कर्जा रोकेका बैंकको नाफा वृद्धिदर आधा घट्यो

decrese in bank profit

काठमाडौं, १७ बैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा नियान्त्रण गरेको भए पनि नाफा भने १५ प्रतिशतभन्दा धेरैले बढेको छ । यो नाफा गत आवको सोही अवधिको वृद्धिको तुलनामा आधाले कम हो ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकहरूको खुद नाफा १५.४५ प्रतिशतले बढेको छ ।

आर्थिक २०७३/७४ चैतमा बैंकहरूको खुद नाफा ३२ प्रतिशले बढेको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकहरूको नेटवर्थ ३३.०२ प्रतिशतले बढेको छ । तर, आर्थिक वर्ष २०७३/०७४ मा बैंकहरूको नेटवर्थ ४०.८९ प्रतिशतले बढेको थियो ।
बैंकहरूले पुँजी बढाएको असर चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देखिएको छ । बैंकहरूले पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याएको भए पनि सो अनुपातमा व्यवसाय विस्तार गर्न नसकेको देखिन्छ । त्यसका साथै आर्थिक वर्षको सुरुवातमा बैंकहरुले आक्रामक भएर कर्जा प्रवाह गरेपछि कर्जा लगानीयोग्य रकमको अभाव बढ्यो । सो समस्याका कारण बैंकहरूले कर्जा प्रवाह नै नियन्त्रण गरे । बैंकहरूले नयाँ निक्षेप नलिएसम्म कर्जा प्रवाह गर्न नसक्ने अवस्था आएपछि ब्याजदर बढाएर निक्षेप आकर्षण गर्ने प्रयास पनि असफल भयो ।

बैंकहरूले खर्च कटौती गर्न नसक्दा पनि नाफा वृद्धिदर घटेको हो । बैंकहरूले ४ प्रतिशतको स्प्रेड कायम राखेर काम गरेको खण्डमा नाफा नघट्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बताए । “बैंकहरूको प्रोभिजनिङ नबढेको हुनाले पनि नाफा कायम हरेको हो,” उनले भने, “नाफा बढेको भए पनि वृद्धिदर घटेको छ । यसले बैंकहरूलाई निराश हुनपर्ने अवस्था पनि छैन र उत्साहित पनि गरेको छैन ।” चालू आवमा नाफा १५ प्रतिशतले बढ्नुमा मर्जर तथा एक्विजिसनको पनि योगदान रहेको उनले बताए ।

चालू आवको चैतसम्ममा २८ बैंकहरूले ३६ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । तर, गत आवको चैतमा बैंकहरूको खुद नाफा ३१ अर्ब ४० करोड रुपैयाँ थियो । चालू आवमा बैंकहरूको नाफा ४ अर्ब ८५ करोड रुपैयाँले बढेको हो । तर, आर्थिक वर्ष २०७३/७४ को चैतमा बैंकहरूको नाफा ७ अर्ब ७२ करोडले बढेको थियो ।

चालू आवको चैत सान्तसम्ममा बैंकहरूको खुद ब्याज आम्दानी पनि १५ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकहरूले पुँजी कर्जा तथा निक्षेप (सीसीडी) रेसियो कसिलो अवस्थामा भए पनि उच्च ब्याजदरमा निक्षेप लिनु परेको थियो । गत आवको सोही अवधिमा बैंकहरूको खुद ब्याज आम्दानी ३१.३७ अंकले बढेको थियो । चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा गर्नेमा सरकारी लगानी भएको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले यो अवधिमा ३ अर्ब ८ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको सोही अवधिको तुलनामा एक अर्ब एक करोड रुपैयाँभन्दा धेरैले बढेको हो ।

चालू आवको चैतसम्ममा ६ बैंकहरूको नाफा वृद्धिदर नै घटेको छ । सो अवधिमा ग्लोबल आईएमई, एनआईसी एशिया, प्रभु बैंक, माछापुच्छे्रबैंक, नेपाल बंगलादेश बैंक र मेगा बैंकको नाफा वृद्धिदर घटेको हो । चालू आवको चैत मसान्तसम्ममा २ अर्बभन्दा माथि नाफा गर्ने बैंकको संख्या भने वढ्न सकेको छैन । गत आवको सोही अवधिमा पनि ४ बैंकले २ अर्बभन्दा माथि खुद नाफा गरेका थिए ।

चालू आवको तेस्रो त्रैमासमा दुई सरकारी लगानी भएका र दुई निजी क्षेत्रका बैंकले २ अर्बभन्दा माथि नाफा कमाएका छन् । सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकले ३ अर्बभन्दा माथि खुद नाफा गरेको छ भने नेपाल बैंकले साढे २ अर्ब खुद नाफा गरेको छ । त्यसैगरी निजी क्षेत्रको नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ८३ करोड नाफा गरेको छ भने नबिल बैंकले २ अर्ब ७९ करोड खुद नाफा गरेको छ ।

भारु ल्याउन बैंकरको माग
वाणिज्य बैंकहरूले तरलताको अभाव अझै कायम रहेको भन्दै विदेशी बैंकबाट भारतीय रुपैयाँ भित्र्याउन पाउने व्यवस्था गर्न माग गरेका छन् । बैंकरहरूले अर्थमन्त्री डा. युवराज खतिवडासँग विदेशी बैंकबाट भारु भित्र्याउने व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

अर्थमन्त्री खतिवडाकै निर्देशनमा नेपाल राष्ट्र बैंकले केही समयपहिले वाणिज्य बैंकहरूलाई विदेशी बैंकबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याएर लगानी गर्न स्वीकृति दिएको थियो । नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले डलरमा ऋण भित्र्याउँदा लागत महँगो पर्ने भएकाले आफूहरूले भारुमा भित्र्याउने व्यवस्थाको माग गरेको बताए । उनले ऋण भारुमा ल्याउन सके हेजिङ फण्डबापतको ५ प्रतिशत रकम बच्ने र कर्जाको ब्याजदरमा पनि कमी आउने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।

अध्यक्ष ढुंगानाले बर्सेनि देखिँदै आएको तरलता अभाव सम्बोधनका लागि दीर्घकालीन निक्षेप आकर्षित गर्न निक्षेपको ब्याज करमा सहुलियत वा छुटको व्यवस्था गर्न अर्थमन्त्री खतिवडासँग आग्रह गरे । जवाफमा अर्थमन्त्री खतिवडाले भारतबाट पुँजी भित्र्याउन कहीँ कतै अवरोध नरहेको बताए । उनले भारतीय रुपैयाँ भित्र्याउँदा स्थिर विनिमय दरका कारण जोखिम नरहेकाले आफूले एभरेष्ट र नेपाल एसबीआई बैंकसँग दीर्घकालीन लगानी भित्र्याउन आग्रह गरेको जानकारी दिँदै यसको व्यवस्थापन गर्ने जिम्मेवारी राष्ट्र बैंकको भएको बताए ।

यद्यपि, यस विषयमा आफूले राष्ट्र बैंकको नेतृत्वलाई सुझाव दिने आश्वासन अर्थमन्त्री खतिवडाले दिएका छन् । वाणिज्य बैंकहरूमा गत पुस महिनादेखि नै देखिएको कर्जा लगानीयोग्य रकम अभावको समस्या अझै हल हुन सकेको छैन । यो समस्याका कारण कर्जा प्रवाह प्रभावित हुँदा त्यसको असर अर्थतन्त्रमा परेको छ । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);