काठमाडौं, ९ बैशाख । रासायनिक अस्त्रसम्बन्धी अन्तराष्ट्रिय विज्ञहरुले रासायनिक आक्रमण भएको भनिएको सिरियाको डुमा क्षेत्रको अनुगमन गरेका छन् ।
रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने संगठन ओपीसीडब्लुको टोलीले सिरियाको राजधानी दमासकस नजिकको डुमा नगरको अनगुमन गरी केही नमूना संकलन गरेको छ । ओपीसीडब्लुले प्रेस विज्ञप्ति जारी गरी संकलन गरिएका नमुना प्रयोगशालामा पठाइने जनाएको छ । दुई साताअघि डुमा क्षेत्रमा रासायनिक आक्रमण भएकामा अमेरिका र पश्चिमा मुलुकहरुले आक्रमणको दोष सिरियाली सरकारमाथि लगाउँदै क्षेप्यास्त्र प्रहार गरेका थिए ।
तर सिरियाले भने आरोप अस्वीकार गर्दै आएको छ । डुमा क्षेत्र अहिले सिरियाली सरकार र रुसको नियन्त्रणमा छ । डुमा क्षेत्रमा रासायनिक आक्रमणमा परी ४० जना भन्दा बढीको ज्यान गएको बताइएको छ ।