काठमाडौं, ७ वैशाख । नेपाल स्टक एक्सेन्जले अनलाइन ट्रेडिङलाई नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । नेप्सेका अनुसार आगामी साउन १ गतेबाट अनलाइन ट्रेडिङ कार्यान्वयनमा ल्याउने तयारी छ ।
आज अनलाइन ट्रेडिङ सफ्टवेयरका बिषयमा स्टक ब्रोकरहरुलाई जानकारी गराइएको छ । सफ्टवेयर निर्माता कम्पनी वाईकोले सफ्टवेयरका बिषयमा ब्रिफिङ गर्दै ८२ प्रतिशत काम सम्पन्न भएको जनाएको हो ।
अनलाईन ट्रेडिङ पूर्ण रुपमा कार्यान्वयनमा आएपछि सेयर खरिदबिक्री आफैं गर्न सकिने छ । अहिले ब्रोकरहरुले मात्रै सेयर खरिद बिक्रीको अडर दिन पाउँछन् । निर्माण भइरहेको सफ्टवेयरमा थप परिमार्जन भएपछि यही बैशाख १३ गते नेप्सेले सफ्टवेयर परीक्षण गर्ने योजना बनाएको छ ।
सफ्टवेयर एकसाता परीक्षण गरिने र वैशाख तेस्रो साता सम्म ब्रोकरलाई परिक्षण गर्न दिने नेप्सेले जनाएको छ । हाल सेयर किनबेच गर्न ब्रोकरले मात्रै अर्डर दिन मिल्छ । बैशाख १ गते अगाडिसम्म कानुनी रुपमा सेयर किनबेच गर्ने ब्रोकर कार्यालय जानुपर्ने बाध्यता थियो । नेपाल धितोपत्र बोर्डले यही बैशाख १ गतेबाट मात्र फोन र एसएमएसबाट दिइने अर्डरलाई कानुनी मान्यता दिएको थियो ।




