एजेन्सी, ३ वैशाख । म्यान्मारको बरबर सैन्य आक्रमणबाट जोगिन बंगलादेश पुगेका रोहिंगा शरणार्थी स्वदेश फर्किन थालेका छन् । तर, संयुक्त राष्ट्रसंघले भने रोहिंगा शरणार्थीलाई स्वदेश फर्कन जोखिमयुक्त भएको चेतावनी दिएको छ । बंगला देशले भने शरणार्थीहरु स्वदेश फर्कन सुरु गरेको अस्वीकार गरेको छ ।
म्यान्मारमा स्थायी रुपमा बसोवास गर्दै आएका अल्पसंख्यक मुसलमान समुदाय रोहिंगामाथिको दमनपछि बंगलादेश पलायन भएका मध्ये ५ सदस्यीय परिवार स्वदेश फर्किएका छन् । बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका अन्य रोहिंगा समुदायले भने स्वदेश फर्केकासँग म्यान्मार सरकारले कस्तो ब्यवहार गर्छ भनी नियालीरहेका छन् ।
शरणार्थीहरु आफ्नो देश फर्किन चाहन्छन्, तर म्यान्मारमा हुने दमन र आतंकबाट तर्सिएका शरणार्थीहरु स्वदेश फर्किने वा नफर्किने भन्ने निर्णय लिन सकिरहेका छैनन् । शरणार्थीहरुले एउटा परिवारलाई म्यान्मार सरकारले परिचयपत्र बितरण गर्दैमा खतरा नटरेको बताएका छन्।
त्यहाँ सबै रोहिंगा मुसलमानलाई बस्ने वातावरण र सुरक्षा प्रवन्ध नभएसम्म जानु ठीक नहुने उनीहरुको तर्क छ । गत बर्ष म्यान्मारमा रोहिंगाबिरुद्ध भएका हिंसा र आक्रमणपछि ज्यान जोगाउन अन्यत्र पलायन भएका शरणार्थीहरुको नजर म्यान्मार सरकार, सेना र त्यहाँको जनताको ब्यवहार तर्फ केन्द्रित भएको छ ।
म्यान्मारबाट गत बर्ष अगस्त महिनामा सातलाख रोहिंगा मुसलमान सीमा पार गरी बंगलादेशमा शरण लिन पुगेका थिए । संयुक्त राष्ट्रसंघले भने म्यान्मारमा रोहिंगाहरुको जातीय सफाइ गर्ने काम भएको आरोप लगाएको छ । जबकि म्यान्मारले सो आरोपलाई अस्वीकार गर्दै आएको छ । राष्ट्रसंघले शरणार्थीको स्वदेश फिर्ता खतरनाक र जोखिमयुक्त हुने चेतावनी दिएको छ ।
रोहिंगाहरु म्यान्मारको रखाइन प्रान्तमा बसोबास गर्दै आएका थिए । कुनै बेला हिटलरले यहुदीहरुसँग गरेको ब्यवहार झैँ म्यान्मारमा रोहिंगासँग गरिएको ब्यवहारबारे चर्चा भैरहँदा शरणार्थीलाई स्वदेश फर्किने उपयुक्त वातावरण र सुरक्षाको ग्यारेण्टी भए सबै शरणार्थीहरु स्वदेश फर्किने सम्भावना छ ।
म्यान्मारमा करीव दश लाखको संख्यामा रोहिंगा मुसलमानहरु बस्दै आएका छन् । जसलाई अल्पसंख्यक समुदायमा सूचिकृत गरिएको छ । रोहिंग्यालाई म्यान्मारले नागरिकता प्रदान गरेको छैन । सन २०१४ मा भएको जनगणनामा उनीहरु समावेस छैनन् । सरकार उनीहरुलाई बंगलादेशबाट आएको गैरकानूनी प्रवासी बताउँदै आएको छ ।