काठमाडौं, २ बैशाख । रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भत्काउनुपर्ने भएको छ। तर काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच द्वन्द्व कायम रहँदा करिब चार महिनादेखि मन्दिर पुनर्निर्माणमा समस्या उत्पन्न भइरहेको छ।
उक्त विवादका कारण मन्दिर र रानीपोखरी पुनर्निर्माणको ठेकेदारको ठेक्का तोड्ने अवस्था आइसकेको छ। विभागले रानीपोखरीको ड्रइङ डिजाइनसहितको नयाँ नक्सा महानगरपालिकालाई बुझाइसकेको छ। विभागले गत ५ गते महानगरलाई विस्तृत विवरणसहितको नक्सा कामपालाई हस्तान्तरण गरिसकेको छ।
इन्जिनियरद्वय लक्ष्मणराज वासुकला र पू्र्णबहादुर श्रेष्ठले तयार गरेको सो नक्सा कामपालाई हस्तान्तरण गरिसकेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्यले नक्सा प्राप्त भइसकेको र विस्तृत छलफल गरेर निर्माण शुरू गर्ने जानकारी दिए । उनले रानीपोखरीको मात्रै नभई मन्दिरको पनि नक्सा तयार हुनुपर्ने बताए । यद्यपि विभागले परम्परागत सामग्री प्रयोग गरेर मात्रै रानीपोखरीको पुनर्निर्माण गर्नुपर्ने सुझाएको छ।
उता सर्वोच्च अदालतले दिएको आदेशका आधारमा सो मन्दिर बनाइएको दाबी गर्दै विभागका महानिर्देशक भेषनारायण दाहालले भने – ‘सर्वोच्चले राणाकालीन शैलीमै मन्दिर बनाई मासिकरूपमा प्रगति प्रतिवेदन बुझाउनुपर्ने आदेश दिएपछि सो कार्य निर्माण गरिएको हो।’ मेयर शाक्यले प्रतिप्रश्न गरे – ‘पुरातत्वले जे गरे पनि हुने? हामीले केही गर्न नहुने? पुरातत्वले सो मन्दिर मल्लकालीन शैलीमा नबनाएसम्म समस्या समाधान हुँदैन।’
उनले केही दिनअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पुरातत्व विभाग, कामपा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीबीच भएको बैठकमा पनि जनचाहना र विज्ञ समूहको सुझावको आधारमा रानीपोखरीको सम्पूर्ण संरचना मल्लकालीन शैलीमै बनाउने अडान राखेको बताए । सो बैठकमा मन्त्री अधिकारीले तत्काल मन्दिर बनाउन सबै पक्षलाई आग्रह गरेका थिए ।मेयर शाक्यले मल्लकालीन शैलीमै मन्दिर बनाउन आवश्यक पर्ने सम्पूर्ण रकम कामपाले नै बेहोर्न सक्ने दाबी गरे । महानिर्देशक दाहालले विवाद गर्नुभन्दा समस्या समाधानको बाटो अपनाउनुपर्ने बताए ।
यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।