सुरु भयो सुर्खेत–काठमाडौं सीधा उडान | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

सुरु भयो सुर्खेत–काठमाडौं सीधा उडान

nepal-airlines

सुर्खेत, २६ चैत ।  नेपाल एयरलाइन्सले सुर्खेत–काठमाडौं सीधा हवाई सेवा सुरु गरेको छ । नेपाल वायु सेवा निगमको १८ सीट क्षमताको जहाजले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट संघीय राजधानी काठमाडौंमा आइतबारदेखि उडान सुरु गरेको हो।

केहीदिन अघिमात्र सुर्खेत विमानस्थलमा बुद्ध एयरले ४७ सिटे जहाजमार्फत परीक्षण उडान गरेको थियो । बुद्ध एयरले वैशाख १ गतेबाट उडान गर्ने तयारी गरिरहेको छ । सीधा उडान नहुँदा यहाँका नागरिकले नेपालगन्जबाट जहाज चढ्नुपर्ने बाध्यता थियो।

सुरुमा नेपाल एयरलाइन्सले हरेक हप्ताको आइतबार मात्र उडान गर्ने गरी सेवा थालेको छ । यात्रुको चापअनुसार उडान थप हुने नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सका सुर्खेत स्टेसन म्यानेजर चेतन तिमिल्सेनाले हरेक साताको आइतबार बिहान सवा ७ बजे काठमाडांै–सुर्खेत र बिहान ९ बजे सुर्खेत–काठमाडौं उडान गरिने बताए । प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष सुरु गर्न लागेसँगै भित्रिने पर्यटकको चापलाई मध्यनजर गरी उडान बढाउन सकिने उनको भनाइ छ । ‘हामीले सेवा सुरु गरेका छौं, केही दिन यात्रुको चाप हेर्दैछौं’, उनले भने,‘यात्रुको चाप बढ्ने वित्तिकै उडान बढाउने छौं, यात्रुलाई सेवा दिन हामी तत्पर छौं ।’

हाललाई सुर्खेतबाट काठमाडौंका लागि सात हजार चार सय भाडादर तोकिएको छ । यस्तै काठमाडौंबाट सुर्खेतका लागि भने सात हजार पाँच सय रुपैयाँ भाडा तोकिएको छ ।’ सानो जहाज भएको र कम यात्रु ओसार्न मिल्ने भएकाले भाडा केही महँगो पर्न गएको एयरलाइन्सले जनाएको छ । हाल डबल इन्जिनको ‘वाई १२ ई’ नामक १८ सिटे जहाजले सेवा दिने भएको छ । बुद्ध एयरले भने ४७ सिटे जहाज सञ्चालनको तयारी गरेको छ । बुद्धले भने न्यूनतम पाँच हजार तीन सय दर तोकेको छ । सुर्खेत–काठमाडौं हवाई सेवा सञ्चालनमा आएसँगै अब जहाज चढ्नका लागि नेपालगञ्ज नै जानुपर्ने बाध्यता टरेको हो ।

करिब एक घण्टा १५ मिनेटमा उडान भर्नुपर्ने यो यात्रामा यसअघि केही समय नियमित उडान भए पनि नाकाबन्दी लगत्तै सेवा बन्द भएको थियो । सुर्खेत–काठमाडौं सिधा उडान सुरु भएसँगै सुर्खेतमा ठूला जहाज अवतरण गर्न सक्ने विमानस्थलको खोजी सुरु भएको छ । हाल कर्णालीका विभिन्न जिल्लामा रहेका विमानस्थल साँघुरा छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।