काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा निजी स्वार्थको पछि दगुरेको आरोप लगाएका छन् । उनले पार्टीभित्र सर्वमान्य सभापति बन्ने भए सबैलाई समेटेर अघि बढ्न सुझाव दिए ।
पार्टी निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको ८ औं राष्ट्रिय महाधिवेशनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै नेता सिंहले पार्टीलाई अघि बढाउन आवश्यक नीति तथा कार्यक्रम तत्काल तय गर्न पनि देउवालाई सुझाब दिए ।
सभापति देउवाले पार्टीलाई संस्थागत ढंगले अघि बढाउन नसकेकै कारण पार्टी संकटमा परेको सिंहको आरोप छ । पूर्वमहामन्त्रीसमेत रहेका कांग्रेस नेता सिंह संसदीय दलको नेताको निर्वाचनमा सभापति देउवासँग पराजित भएका थिए ।