३३ किलो सुन र हत्या प्रकरणमा एसएसपी नै छानबिनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

३३ किलो सुन र हत्या प्रकरणमा एसएसपी नै छानबिनमा

gold

काठमाडौं, २३ चैत । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् । प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यक्ति हत्यासम्म गराएको विषयमा उनी छानबिनमा परेका हुन् ।

सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको हो ।

गृह मन्त्रालयले बिहीबार मुख्यालयलाई पत्र लेख्दै लोहनीलाई महाशाखाबाट प्रधान कार्यालयमा बोलाएर छानबिन गर्न निर्देशन दिएको हो । समितिले मंगलबार एसएसपी लोहनीसँग बयान लिएको थियो । प्रहरी मुख्यालयले पनि प्रहरी नायब महानिरीक्षक डीआईजी पुस्कल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । दुवै समितिको बैठक बिहीबार साँझ गृह मन्त्रालयमा बसेको स्रोतले जनाएको छ ।

लोहनीसँगै अन्य ‘जुनियर’ प्रहरी अधिकृतलाई समेत तानेर छानबिनको दायरा फराकिलो पार्न समितिले निर्देशन दिएको छ । सुन तस्करले सुन लुटेर घटना गुपचुप गराउन सुन बोक्ने भरिया सनम शाक्यको हत्या गरेको र त्यसमा प्रहरीको मिलेमतो रहेको आशंका गरिएको छ । महाशाखाले गत १९ फागुनमा काठमाडौंबाट मोरङमा प्रहरी पठाएर तीन जना पक्राउ गरेको थियो भने हत्या गरिएका शाक्यको शव स्कार्पियो गाडीबाट बरामद गरेको थियो ।

तत्कालीन समयमा प्रहरीले काभ्रेका टेकराज मल्ल, मोरङ उर्लाबारीका कृष्ण भन्ने नरेन्द्र कार्कीलाई आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर महाशाखाले पक्राउ गरेपछि तत्कालै प्रहरी प्रधान कार्यालयले डीआईजीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । प्रहरी स्रोतका अनुसार गत माघमा ३३ किलो ५ सय ग्राम सुन काठमाडौंबाट लुटिएको थियो । प्रहरीका अनुसार लुटिएको सुन दुबईमा बसेर अवैध रूपमा सुनको कारोबार गर्ने गोरे भन्ने चूडामणि उप्रेतीको हो ।

उप्रेतीले नै आफैंले पठाएको सुन नाटकीय ढंगले लुटपाट गरेको र महाशाखामा कार्यरत केही प्रहरी अधिकृतहरूको उनीसँग सम्पर्क रहेको स्रोतले जनाएको छ । २१ फागुनमा शाक्यको शव मोरङको उर्लाबारीमा भेटिएको थियो । त्यतिबेला स्कार्पियोमा मृत अवस्थामा भेटिएका उर्लाबारीका शाक्यलाई यातना दिएर हत्या गरेको पाइएको प्रहरीले जनाएको थियो ।
३६ वर्षीय शाक्यलाई उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको थियो । तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेपछि प्रहरी पनि तस्कर समूहसँग मिलेको आशंकामा छानबिन समिति गठन गरेको थियो । प्रहरीले उप्रेतीलाई पनि सो प्रकरणमा अभियुक्त ठहर गरेको भए पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);