काठमाडौं, १८ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार युवासंघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता खनालले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै युवा शक्तिलाई मुलुक समृद्धिको अभियानमा लगाउनुपर्ने बताए । नेपालमा स्रोत र सम्भावना धेरै भए पनि त्यसलाई परिचालन गर्ने जनशक्ति नहुँदा विकासमा पछि परेको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुक निर्माणको जिम्मेवारी युवाहरुले लिनुपर्ने बताए । पूर्व उर्जामन्त्रीसमेत रहेका उनले जलविद्युत उत्पादन गरेर मात्रै पनि मुलुकमा विद्यमान व्यापार घाटा हटाउन सकिने बताए । नेता शर्माले मुलुक नयाँ युगमा प्रवेश गरेकाले सोही अनुसारको नीति तथा योजना तय गर्न सरकारलाई सुझाव दिए ।