साउन २६ , काठमाण्डौँ । नेपाल पर्वतारोहण संघ एनएमएका नवनिर्वाचित पदाधिकारीले निर्वाचनमा कुनै धाँधली नभएको बताएका छन् ।
निर्वाचनमा हार व्यहोरेको पक्षले धाँधली भएको भन्दै विरोध जनाएपछि एनएमएका नवनिर्वाचित पदाधकारीले राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी विरोधको कुनै अर्थ नभएको बताएका हुन् । नवनिर्वाचित पदाधिकारीहरुले मतपरिणाम घोषणा भएको लामो समय बित्दासमेत शपथग्रहण नगराएको भन्दै असन्तुष्टि जनाए ।
एनएमएको निर्वाचनमा धाँधली भएको भन्दै पराजित भएका जिङ्बा जाङ्बु शेर्पा समूहले केही दिन अघि आर्थिक चलखेल गरेको, मतदाताको परिचयपत्र अनधिकृत रुपमा बाँडिएको लगायतका आरोप लगाउँदै निर्वाचनको परिणाम नमान्ने जनाएको थियो । हार नस्वीकारेपछि पत्रकार सम्मेलन गरेर प्रस्ट पार्नुपरेको नवनिर्वाचित समूहले जनाएको छ । नयाँ नेतृत्वका लागि साउन २१ गते भएको एनएमएको निर्वाचनमा ३ सय ८३ मतका साथ सन्तवीर लामा अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने निकटतम प्रतिद्वन्द्वी जिङ्बा जाङ्बु शेर्पाले ३ सय १६ मत प्राप्त गर्नुभएको थियो ।
तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य मनोनीन हुनेछन् ।