काठमाडाैं, १७ चैत । कैलालीको टीकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने सरकारको तयारीको विरोध गर्दै प्रधानमन्त्री निवास बालुवाटार घेर्न पुगेका अधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ ।
अधिकारकर्मी कृष्ण पहाडी सहितका धर्नाकारीलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो । अधिकारकर्मीले दण्डहीनता अन्त्य गर, रोम विधान अनुमोदन गर, टीकापुर घटनाका दोषिलाई उन्मुक्ति दिन पाईदैन भन्दै नाराबाजी गरेका थिए । केही समयको नाराबाजीमै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका अधिकारकर्मीलाई नेपाल पुलिस क्लवमा राखिएको प्रहरीले जनाएको छ । टीकापुर घटनाका दोषि लगायत मानवता विरोधी अन्य विभिन्न घटनामा मुद्दा फिर्ता र आममाफी दिन खोज्ने सरकारी योजना विरुद्ध मानवअधिकार तथा शान्ति समाजले शनिबार बालुवाटारमा प्रर्दशन गरेको हो ।