काठमाडौं, १३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीको शपथबारे सर्वोच्च अदालतमा बहस हुने भएको छ । फागुन ३० गते प्रधानन्यायाधीश गोपाल पराजुलीबाट लिएको शपथ ‘वैधानिक कि अवैधानिक’ भन्ने विषयमा न्यायिक बहस हुने भएको हो ।
पदावधिक सकिसकेका प्रधानन्यायाधीशबाट शपथ लिएकाले पुनः शपथ ग्रहण गर्नुपर्ने माग गर्दै अघिल्लो हप्ता सर्वोच्चमा परेको रिट दरपिठ भए पनि सर्वोच्चले मंगलबार उक्त रिट दर्ता गर्न आदेश दिएपछि राष्ट्रपतिको शपथ न्यायिक परीक्षणको विषय बन्ने भएको हो ।
पराजुलीले शपथ गराउँदा गराउँदै फागुन ३० गते दिउँसो न्याय परिषद्ले पराजुलीको सेवाअवधि साउन २१ गते नै सकिएको विवरण सार्वजनिक गरेको थियो ।
अधिवक्ता नारायण खरेलले इजलासमा दिएको निवेदन स्वीकार गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले रिट दर्ता गर्न प्रशासनलाई आदेश दिएको हो । आदेशमा अवकासको पत्र पाइसकेको प्रधानन्यायाधीशबाट भएको शपथको न्यायिक परिक्षण हुनुपर्ने उल्लेख छ ।