अनुप तिवारी
पर्सा, ८ चैत । आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा पर्साको जिल्ला अस्पताल अस्तव्यस्त बनेको छ । निको हुन अस्पताल पुगेका बिरामी अस्पतालको फोहोर र दुर्गन्धका कारण थप समस्यामा पर्न थालेका छन् ।
बिरामीहरु स्वस्थ हुने आसा लिएर अस्पतालसम्म पुगेका हुन्छन् । तर, पर्साको पोखरियास्थित जिल्ला अस्पतालमा बिरामीको आसाभन्दा ठीक उल्टो हुने गरेको छ । सरसफाई र दैनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति र सामग्रीको अभावमा गुज्रिरहेको अस्पताल पुग्ने बिरामी निको हुनुको साटो झन् समस्यामा पर्ने गरेका छन् ।
४ वर्षअघि ७ करोडको लगानीमा निर्माण भएको अस्पताल जनशक्ति र पूर्वाधार अभावले अस्तव्यस्त बनेको हो । अस्पताल परिसरमा जताततै फोहर गन्दगी फैलिएको छ । इमरजेन्सी वार्डदेखी जेनरल वार्डको बेडमा तन्नासमेत छैन् । चालु आर्थिक वर्षको ८ महिनामा अस्पतालमा औषधी पसल संचालनको लागि ७ लाख तथा औषधी खरिदमा ८ लाख रुपया खर्च भएको छ । तर, असहाय र गरिब परिवारका विरामीले निशुल्क पाइने औषधी किन्छु भन्दा पनि पाएका छैनन् ।
जनशक्ति र पूर्वाधार अभावसँगै अस्पताल व्यवस्थापनको पाटोमा पनि चरम लापर्बाही देखिएको छ । ४ वटा गाउँपालिका र तीन वटा नगरपालिकाका सेवाग्राही जोडिएको अस्पतालमा सरकारका २५ तथा विकास समितीबाट २० जना कर्मचारी भर्ना भएपनि विरामीले सेवा पाएका छैनन् ।
स्वास्थ मन्त्रालयले एक साता अगाडि ९८ जना ९ औँ तहका चिकित्सकलाई विभिन्न ठाउँमा पठाएपनि त्यसमा पोखरिया अँटाएन । अस्पतालले ओपिडी संचालनसहितका सेवालाई सहज बनाउन आवश्यक सामग्री खरिद गर्न सकेको छैन ।
अपताललाई तत्काल जनशक्तिसहित, चिकित्सक र स्वास्थकर्मी बस्ने आवास तथा विरामीका लागि आवश्यक शैया र उपकरणहरु आवश्यक देखिएको छ । यी पूर्वाधारको अभावमा बिरामी निको पार्ने अस्पताल आफैँ बिरामी परेको छ । यसतर्फ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।