साउन २५ , काठमाण्डौँ । भारतीय सुरक्षाबलले सीमामा आवतजावत गर्ने सर्वसाधारण तथा मालबाहक सवारीसाधनको चेकजाँचमा कडाइ गरेपछि भैरहवा–सुनौली नाका प्रभावित भएको छ ।
विशेषगरी सामान आयात गरी नेपालबाट भारततर्फ फर्कने मालबाहक गाडीमाथि कडाइ गरिएको हो । अहिले भैरहवा–सुनौली नाकामा झन्डै पाँच सयभन्दा बढी मालबाहक सवारीसाधन जाममा परेका छन् । भैरहवा नाकाबाट हुने आयात–निर्यात प्रभावित हुदाँ नेपालतर्फको भन्सार राजस्वमा प्रत्यक्ष असर पर्न थालेको छ । सुरक्षाको कारण देखाउँदै साउनको सुरुदेखि नै नेपालबाट भारततर्फ जाने सम्पूर्ण मालबाहक सवारी र यात्रुमाथि दसगजा सीमा क्षेत्रमै कडा चेकजाँच सुरु गरिएको थियो । भारतीय अर्ध सैनिक बल एसएसबीले नेपाली पक्षको आग्रहपछि केही दिन चेकजाँच खुकुलो बनाएपनि पुनः कडाइ गरेको छ ।
यस वर्ष भैरहवा भन्सार कार्यालयलाई राजस्व असुली गर्न तोकिएको लक्ष्यअनुसार दैनिक १८ देखि २० करोड रुपैयाँ संकलन गर्नुपर्ने छ । तर, यो कडा चेकजाँच प्रक्रियाले दैनिक १२–१३ करोड रुपैयाँ मात्र संकलन हुने गरेको छ । चेकजाँचमा खुकुलो बनाइएको बेला भने भारतबाट बढी मालबाहक ट्रक भित्रिदा एकैदिन २३ करोड रुपैयाँ राजस्व संकलन हुने गरेको छ । सिमामा चेकजाँच खुकुलो बनाइएको बेला दैनिक ३ सयदेखि ४ सय मालबाहक सवारी नेपाल भित्रिने गरेकामा अहिले मुश्किलले २ सय ट्रक भित्रिने गरेका छन् ।