काठमाडौं, ५ चैत । युरोपियन युनियनले नेपाललाई सबै प्रकारका निर्वाचनमा बिद्युतीय मतदानको शुरुवात गर्नुपर्ने सुझाव दिएको छ ।
यूरोपियन यूनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीले सोमबार सभामुख कृष्णबहादुर महरासँग सिंहदरबारमा भेट गरी यस्तो सुझाव दिएको हो । सभामुख महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षणको प्रतिवेदन बुझाउँदै टोलीले २९ बुँदे सुझाव दिएको छ ।
भेटमा इयू निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए । भेटमा सभामुख महराले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद दिए ।
नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै सभामुख महराले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताए ।