काठमाडौं, ३ चैत । नेपाल निजामति कर्मचारी संगठनले रोलक्रम नमिलाई स्थानीय तहमा कर्मचारी खटाएकाले काम कारवाही प्रभावकारी हुन नसकेको जनाएको छ ।
संगठनले प्रदेश मन्त्रालय र स्थानीय तहमा कर्मचारी खटाउँदा श्रेणी र तह नमिलेकाले प्रदेश र स्थानीय सरकारको काम प्रभावकारी हुन नसकेको दाबी गरेको हो । प्रधानमन्त्री केपी ओलीलाई बधाई तथा शुभकामना दिन आयोजना गरिएको कार्यक्रममा कर्मचारीहरुले यस्तो दाबी गरेका हुन् ।
संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले सबै सेवा समूहकालाई विधीपूर्वक र पक्षपात रहित ढंगले स्थानीय तहमा खटाउन माग गरे ।
अध्यक्ष देवकोटाले विद्यमान निजामति सेवा ऐनमा रहेका विकृति विसंगती र राजनीतिक हस्तक्षेपले प्रशासन यन्त्र कमजोर र फितलो भएको बताए । स्थानीय तहमा खट्ने कर्मचारीको कार्यसम्पादन मूल्यांकन तथा सरुवाको अधिकार कार्यालय प्रमुखलाई दिनुपर्ने प्रावधान सहितको संघिय निजामति सेवा ऐन बनाउनुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले विकासमुखी, जनमुखि, सेवामुखि, स्वच्छ र सुशासननमुखि सरकार बनाउन आवश्यक कर्मचारीको सहयोग आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा एक जुट हुन कर्मचारीलाई निर्देशन दिए ।