काठमाडौं, ३० फागुन । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले समृद्धि र विकासका लागि निजी क्षेत्रसँग मिलेर काम गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सबै प्रदेशका मुख्य मन्त्रीहरुले निजी क्षेत्रको लगानीका लागि उपयुक्त वातावरण बनाउन प्रतिवद्ध रहेको आश्वासन पनि दिएका छन् ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले समृद्धि र विकासका लागि निजी क्षेत्रसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेशको विकासका लागि आवश्यक सुझाव दिन पनि निजी क्षेत्रका व्यवसायीहरुसँग आग्रह गरे ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शान्ति, स्थिरता र विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे । उनले निजी क्षेत्रको लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न लागिपर्ने बताए ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले केन्द्र सरकारसँग समन्वय गरेर लगानीमैत्री वातावरण बनाउने योजना पनि अघि सारे ।
कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ६ का मुख्यमन्त्री महेन्द्र शाहीले सुःखी र समृद्ध नेपाल बनाउने चाहना पूरा गर्न निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नरहेको स्पष्ट पारेका छन् ।