दलीय सन्तुलन नै मुख्य चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दलीय सन्तुलन नै मुख्य चुनौती

bidhya_devi_bhandari

काठमाडौं, ३० फागुन । संक्रमणकालीन व्यवस्थाअनुसार २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी विद्यादेवी भण्डारीले अबको पाँच वर्ष संवैधानिक सीमाभित्र रहेर संविधानको पालक र संरक्षकको भूमिका निर्वाह गर्नुपर्नेछ । पहिलो कार्यकालको अन्तिमतिर आफ्नो पूर्वदल नेकपा एमालेप्रति बफादार रहेको भन्दै विवादरहित बन्न नसकेकी भण्डारीका लागि आगामी पाँच वर्ष सन्तुलित भूमिका निर्वाह गर्नु सबैभन्दा चुनौतीपूर्ण देखिन्छ।

एमाले र माओवादी केन्द्रको समर्थनमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको उम्मेदवार बनेकी भण्डारीले आगामी दिनमा दलीय सन्तुलन कायम गर्नुपर्नेछ । पहिलो कार्यकालमा दलीय मात्र होइन, पूर्वदल एमालेभित्र पनि सन्तुलित भूमिका निर्वाह गर्न नसकेको आरोप उनीमाथि लागेको थियो । राष्ट्राध्यक्षको जिम्मेवारीमा पुगेर पनि उनले एमालेको गुट सञ्चालन गरेको भन्दै नेताहरुको असन्तुष्टि सार्वजनिक भएको छ । अब उनले सबै दलहरुसँग सन्तुलित भूमिका निर्वाह गरेर आफूलाई अभिभावकका रुपमा प्रस्तुत गर्न सक्नुपर्ने विश्लेषकहरुको बुझाइ छ।

राजनीतिक विश्लेषक हरि शर्माले संविधानले राष्ट्रपतिको अधिकार र भूमिकालाई स्पष्ट किटान गरेको जनाउँदै त्यसभित्र रहेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । संक्रमणकालीन व्यवस्थाअनुसार भण्डारीको दुईवर्षे पहिलो कार्यकाल सकिएको जनाउँदै पहिलो राष्ट्रपति रामवरण यादवका सल्लाहकारसमेत रहेका शर्माले भने, ‘हिजो संक्रमणकालीन अवस्थामा यताउता गर्ने ठाउँ राष्ट्रपतिलाई थियो । तर, अब संविधानको मर्म र भावनाअनुसार चल्नुपर्छ । त्यसले निर्देश गरेका अधिकार र सीमामा रहेर सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ।’

दुईतिहाइ बहुमतसहित गठन भएको वर्तमान सरकारले चाल्न सक्ने कदममा सहयोगी मात्र होइन, संविधानविपरीत लिनसक्ने निर्णयमा राष्ट्रपति संविधानको संरक्षक र पालकका रुपमा आफूलाई प्रस्तुत गर्न सक्नुपर्ने हुन्छ।

वर्तमान सरकार भारी बहुमतसहित गठन भएको सुनाउँदै विश्लेषक शर्माले संसद्भित्र र बाहिरबाट पनि चुनौती आउन सक्ने बताए । ‘संसद्भित्र र बाहिरबाट पनि विभिन्न खाले चुनौती आउन सक्छ,’ उनले भने, ‘सरकार बहकियो भने त्यसलाई रोक्न सक्छ कि सक्दैन ?’

स्थानीय, प्रदेश र केन्द्र सरकारबीचको सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने चुनौती नयाँ राष्ट्रपतिसमक्ष रहेको छ । स्थानीय, प्रदेश र केन्द्रको अधिकारका विषयमा आउन सक्ने समस्या समाधानमा राष्ट्रपतिको भूमिका महत्त्वपूर्ण हुनेछ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);